चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ३ गते । ताप्लेजुङको हिमाली क्षेत्र लेलेपको फले र घुन्सामा स्याउ लटरम्म फल्न थालेको छ । स्थानीयका अनुसार तीन वर्षअघि परीक्षणका लागि रोपिएको स्याउ अहिले लटरम्मै फल्न थालेको हो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित तीन हजार २३२ मिटरको उचाइमा फले र तीन हजार ४७५ मिटर उचाइमा घुन्सा बस्ती रहेको छ । उक्त उचाइ रहेको हिमाली भेगमा लटरम्म स्याउ फल्न थालेको घुन्साका स्थानीय तेन्जिङ सेराप शेर्पाले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार बिरुवा रोपेको ६ महिनाभित्र फले र घुन्सामा स्याउ फलेको छ ।
फले र घुन्सामा परीक्षणका लागि भनेर इटालीबाट स्याउको बिरुवा ल्याएर रोपिएको थियो । हिउँद यामभर निकै बाक्लो हिउँ पर्ने क्षेत्र फले र घुन्सामा स्याउको बिरुवा रोपेको छ महिनादेखि नै फल्न थालेको र अहिले लटरम्मै फलेको स्थानीयले बताएका छन् । फुजी र गोल्डेन डेलिसियस जातको स्याउको बिरुवा ल्याएर खेती सुरु गरिएको र अहिले सोही स्याउ फल्न थालेको स्थानीयको भनाइ छ ।
फलेका स्थानीय मिङ्मा शेर्पाकाअनुसार स्याउ फल्न थालेपछि अहिले कञ्चनजङ्घा हिमालको भ्रमणमा आउने पर्यटकलाई ख्वाउन थालिएको छ । स्याउ फल्न थालेसँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आउने पर्यटकलाई चखाउन र कोसेलीका रुपमा दिन थालेको शेर्पाको भनाइ छ ।
यता, परीक्षण खेतीका लागि इटालीबाट बिरुवा ल्याएर रोपेको स्याउ छोटो समयदेखि नै मनग्य फल्न थालेपछि खेतीमा संलग्न किसान हर्षित भएका गाउँ कार्यपालिका सदस्य शेर्पाको भनाइ छ । उहाँका अनुसार स्थानीय किसानले अब स्याउको व्यावसायिक खेती सुरु गर्ने योजना बनाएका छन् । कञ्चनजङ्घा हिमालको पदमार्गअन्तर्गत आधार शिविर नजिक रहेको फले र घुन्सा बस्तीमा व्यावसायिक स्याउ खेती गरेमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझाइमा स्थानीय रहेका छन् ।
कञ्चनजङ्घा भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई यहाँको कोसेलीको रुपमा बिक्री गरेर स्याउबाट आम्दानी गर्ने सोचसहित स्थानीयले व्यावसायिक खेती गर्ने योजना बनाएका बुझिएको छ ।
यता स्याउ खेती गर्नलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने पनि स्थानीय किसानको माग रहेको छ । स्थानीय सरकार वा अन्य निकायको सहयोग पाएमा आफ्नो लगानी समेतबाट हिमाली भेगमा स्याउ खेती लगाउनलाई सहज हुने स्थानीय किसान बताउँछन् ।