भवानीदत्त भट्ट
कञ्चनपुर, कार्तिक ३ गते । कञ्चनपुरका विपिन जोशीको शव घरमा ल्याइएको छ । सोमबार काठमाडौँ विमानस्थलबाट धनगढी हुँदै विपिनको शव घरमा पुगाइएको हो ।
तिहारको दोस्रो दिन दीप प्रज्ज्वलन गरेर मनाइँदै आए पनि विपिन जोशीको घर रहेको भीमदत्त नगरपालिका–३ मालिकार्जुन टोलमा भने स्थानीयहरूले दीपावली गरेनन् । स्थानीयहरूका घर सुनसान देखिएको छ । विपिनको मृत शरीर घरको आँगमनमा राखिएको छ ।
“झिलिमिली तिहार मनाउन मन थियो, स्थानीय डम्बर चन्दले भन्नुभयो, “एक होनहार युवा गुमाएपछि गाउँ नै शोकमा डुबेको छ ।” घरको आँगनमा राखिएको शवप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूको भिड लागेको छ । सरकारप्रति विश्वास गुम्दै गएको स्थानीयहरूले बताएका छन् ।
“सिक्दै सिकाउँदैै कार्यक्रम अन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको मृत्यु भएको दुई वर्षपछि मात्रै परिवारलाई जानकारी गराइएको थियो । विपिनको मृत शरीरको अन्तिम दाहसंस्कार मंगलबार बिहान गरिने भएको छ ।