रामकृष्ण बोहरा
बागलुङ, कात्तिक ४ गते । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा कति झोलुङ्गे पुल छन् भन्ने तथ्यांक छैन । तथ्याङ्क नभएको मात्र हैन, कैयौं झोलुङ्गे पुल मर्मत अभावमा लोप भइसकेका छन् ।
कतिपय जिर्ण छन् । पछिल्लो समय अग्ला पुल बनाउने चलनले खोलामै झरेर उकालो चढ्नुपर्ने दर्जनौं पुलको अस्तित्व मेटिएको छ । सडक सञ्जाल विस्तारपछि बनेका पक्की पुलले पनि झोलुङ्गे पुलको अस्तित्व मेटाएको हो ।
सदरमुकाम बागलुङ बजारदेखि तित्याङ जोड्ने अग्लो झोलुङ्गे पुल बनेपछि यसअघिको पुलको अस्तित्व नै मेटिएको छ । पछिल्लो १० वर्षदेखि यो पुलमा यात्रा गर्ने कोही छैनन् । मर्मत पनि नभएपछि लठ्ठा मात्र बाँकी छ । खोलामै पुगेर उकालो हिंड्नुपर्ने भएपछि उक्त पुलमा कोही जाँदैनन् ।
काठेखोला गाउँपालिकाको वडा २ र ६ जोड्ने झोलुङ्गे पुल पनि अस्तित्वविहीन भइसक्यो । लोकमार्गमा पुल बनेपछि झोलुङ्गे पुलतर्फ जाने बाटो मेटियो । बागलुङकै जैमिनी नगरपालिका वडा १ र २ जोड्ने पुल चल्न छाडेको छ । पछिल्लो समय ती झोलुङ्गे पुलको तथ्यांक राख्ने काम र संरक्षण दुवै हुन सकेको छैन ।
तत्कालीन गलकोटे राजा भरत बम मल्लले एक सय वर्षअघि दरमखोलामा झोलुङ्गे पुल बनाएको इतिहास छ । राजाको अगुवाइमा बनेकोले यो पुलको नाम ‘राजाको पुल’ भनेर चिनिन्छ । गलकोटको हरिचौर जिल्लाको प्रशासनिक केन्द्र पनि भएकोले दरमखोलामा उक्त पुल बनाइएको जानकार बताउँछन् ।
गलकोट नगरपालिका वडा ५ का तुलसी निउरेका अनुसार, जनतालाई आउजाउ गराउनका लागि त्यतिबेला बाबियो बाटेर पुल बनाइएको थियो । त्यसपछि बागलुङकै विश्वकर्माले बनाएका साङ्लाले यो पुल मर्मत गरियो । त्यो पुल जिर्ण भएपछि पुरानै मोडलमा ‘राजाको पुल’ संरक्षण गरेर राखिएको छ । संरक्षण गरिएको त्यहीं एउटा पुल मात्रै भएको वडाध्यक्ष पवन हमालले बताउनुभयो ।
जिल्ला समन्वय समिति र तत्कालीन जिल्ला विकास समितिको तथ्यांक अनुसार २०७४ अघि बागलुङमा ४ सय ९५ सय वटा झोलुङ्गे पुल थिए । त्यसपछि बनेका पुलको एकीकृत तथ्याङ्क छैन । नयाँ पुल बन्दै जाँदा अधिकांस जिर्ण बन्दै छन् ।
पैदल मार्गहरू पुरिँदै गएको र सडक मार्ग खोल्ने क्रमले पुराना झोलुङ्गे पुलहरू लोप हुन थालेको अनुगमनको क्रममा भेटेको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताउनुभयो । कतिपय स्थानमा मर्मत गर्न सुझाव दिएको थापाको भनाइ छ ।
कतिपय पुराना झोलुङ्गे पुल बागलुङकै राङखानी र खुङ्खानीका विश्वकर्माले बनाएका साङ्लाले बनाइएको छ । स्थानीय तहले ती विश्वकर्मा र उत्खनन् गर्ने छन्त्यालको खोजी गरेका छैनन् । तमानखोला वडा ५ र ६ जोड्ने पुलले दुवै वडावासीलाई सहज बनाएको छ । यसअघिको साँङ्ले पुल लोप भयो । अग्लो पुल बन्दा स्थानीयलाई विद्यालय, स्वास्थ्य चौकी र पालिका पुग्ने बाटो छोटो भएको छ ।
‘‘नर्जाखानीका बालबालिका खुङ्खानी पुग्न एक घण्टा छोटो भएको छ’’ स्थानीय कुलबहादुर छन्तयालले भन्नुभयो, ‘‘पुल नहुँदा बालबालिका लड्ने, चोटपटक लाग्ने र जङ्गलमा अलपत्र पर्ने समस्या थियो । तर, पुरानो संरक्षणमा भने कसैले चासो राखेका छैनन् ।’’ खोला छेउका साना पुलहरू उपयोगविहीन भएपछि संरक्षण गर्न नसकिएको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।
काठेखोला, दरमखोला, ठेउले खोला र गौंदीखोलाका अधिकांश पुल पनि जिर्ण भएपछि लठ्ठा मात्र झुण्डिएको भेटिन्छन् । कतिपय स्थानमा मर्मत नगरेकाले जिर्ण पुलमा स्थानीयले आउजाउ गरिरहेका छन् । मध्यपहाडी लोकमार्गले बागलुङको एक सय ४२ किमी खण्ड चिरेपछि दर्जनौं पुलहरू लोप भएको बडिगाड–५ का रामप्रसाद घिमिरेले बताउनुभयो ।
बडिगाड–७ भीमगिठे खोलाको पुल भने पुरानै लठ्ठा संरक्षण गरेर हेर्न लायक बनाएर राखिएको घिमिरेले बताउनुभयो ।