• ४ कात्तिक २०८२, मङ्गलबार

फूलको माग अत्यधिक, कृषकलाई पुर्‍याउन धौधौ

blog

भलामचौर गाउँमा गरिएको फूलखेती । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, कात्तिक ४ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ को मर्स्याङ्दी कृषि फर्मकी अम्बिका कुइँकेलले यो वर्ष कम मात्रामा सयपत्री लगाउनुभयो । तिहारमा उहाँलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो । 

माग अत्याधिक भएपछि फूल पुर्‍याउन नसकिएको मर्स्याङ्दी–९, भलामचौरका किसान पदम गुरुङले बताउनुभयो । “गत वर्ष बिक्री कम भएकाले यो वर्ष कम लगाएको बजारमा पुर्‍याउन धौधौ भयो” गुरुङले भन्नुभयो, “ग्राहक बारीमै आएर फूल लगिरहेका छन् ।” 

उहाँले दुई रोपनी जग्गामा चार हजार सयपत्री लगाएको बताउनुभयो । गत वर्षभन्दा यस वर्ष मूल्य पनि राम्रो पाएको उहाँले बताउनुभयो । सुन्दरबजार गहतेका बुद्धी आलेले पनि यसवर्ष ग्राहकलाई फूल पुर्‍याउन नसकिएको बताउनुभयो । “फुलेको जति लक्ष्मीपूजाको दिन नै सकियो” आलेले भन्नुभयो, “टीकाको दिनसम्म धेरै माग छ ।”

मध्यनेपाल नगरपालिका–५, समिभञ्याङका किसान इभान जोशीले फूल खेतीबाट निराश बन्न नपर्ने बताउनुभयो । उहाँले पोखरा र दमौलीबाट फूल र मालाको माग अत्यधिक आएको बताउनुभयो ।  

फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने जोशीको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूल खेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ” उहाँले भन्नुभयो । तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्‍याउन मुस्किल पर्ने जोशीको अनुभव छ । 

तिहार बाहेक विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यक्रममा माला बिक्री हुने गरेको किसानहरू बताउँछन् । तरकारी र अन्य खाद्य बालीभन्दा फूल खेतीमा कम लगानी र बढी आम्दानी गर्न सकिने कृषि विज्ञहरु बताउँछन् । अन्य बालीसँगै फूल खेती पनि गर्नसके किसानले बजारको समस्या भोग्नु नपर्ने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताउनुभयो । किसानले यो वर्ष प्रतिकेजी तीन सयदेखि पाँच सयसम्ममा फूल बिक्री गरेका छन् ।