ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक ५ गते । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रसिद्ध धाइरिङ भुमेठाकुर मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको छ । पछिल्ला केही वर्ष यता पूजा र दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
करिब चार सय वर्ष पहिला धाइरिङ गाउँको शिरमा स्थापना गरिएको भुमेठाकुर मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण पछिल्ला केही वर्ष यता भक्तजनको संख्यामा वृद्धि हुनथालेको मन्दिरका पूजारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
बाइसे चौबिसे राजाका पालामा जुम्लाबाट धाइरिङ आएका सर्बु आचार्यले भुमेठाकुरको स्थापना गरेको भनाइ छ । यहाँको प्रसाद घरमा लगेर खान नपाइने प्रचलन छ । भुमेठाकुरमा पाठाको बली दिने तथा नरिबल चढाउने प्रचलन छ । भुमेठाकुरको दर्शनका लागि यहाँ पुरुष मात्र जाने गर्दछन् ।
वडा दशैंको सप्तमी, कोजाग्रत पूर्णिमा र चैते दशैंको अवसरमा गरी वर्षमा चारपटक गाउँलेले सामुहिक पूजाआजा गर्दछन् । गाउँलेले धजापतका, अक्षता, धुपबत्ति, पैसा र घण्टी लगायतका पूजाका सामग्री जम्मा पारेर मन्दिरमा पठाउँछन् ।
तत्कालीन समयमा आचार्यका पुर्खा सर्बु घुम्दै फिर्दै यस क्षेत्रमा आउँदा जुम्लामा आफूले पूजा गर्ने देवतालाई आफूसँगै ल्याएर गाउँको सिरानमा भुमेठाकुरको मन्दिर स्थापना गरेको इतिहास फेला परेको भुमेठाकुर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुद्रलाल उपाध्यायले बताउनुभयो ।
भुमेठाकुर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको जलजला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो । साउन, माघ महिना, कात्तिक पक्ष, एकादशी र औसीमा यहाँ बलि र पूजा हुँदैन । अन्य महिनाको शनिबार र मंगलबार बली दिने र पूजाआजा गरिने मन्दिरका पूजारी आचार्यले बताउनुभयो ।
उहाँका अनुसार पर्वतका साथै, बागलुङ, म्याग्दी, पोखरा, काठमाडौं, चितवन लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् । एकपटक आएका भक्तजन मनोकांक्षा पूरा भएपछि पुनःदोहोरिएर दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो ।
यस क्षेत्रमा रहेका धार्मिक स्थल गौशाला, शिवालय मन्दिर, भुमेठाकुर र जलजला क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय सर्किटका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणको कामहरु थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
गत आर्थिक वर्षमा संघीय सरकारको चार करोड रुपियाँ बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ मार्फत बहुवर्षीय ठेक्का लगाएर भुमेठाकुर मन्दिर र शिवालय क्षेत्र पूर्वाधार निर्माण योजना मार्फत पर्यटकीय संरचनाहरु निर्माण गर्न लागेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।