गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक ३ गते। देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकासँग करिब २८ लाखभन्दा बढी नगद र तासका बुक बरामद गरिएको प्रहरीले जनाएको छ।
संखुवासभा, ललितपुर, काभ्रे, सिन्धुली, कास्की, दाङ, बाँके र जुम्लालगायत जिल्लामा पछिल्ला तीन दिनयता प्रहरीले विशेष अभियान सञ्चालन गरी जुवातासमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।
संखुवासभाको खाँदबारी–१ मा जितकुमार राईले सञ्चालन गरेको ‘खुसुमा होटल’मा खेल भइरहेका बेला राईसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनीहरूबाट नगद एक लाख ७२ हजार ९ सय ३५ रुपैयाँ, १६ थान कौडा र ४ बुक तास बरामद गरिएको हो।
त्यसैगरी, ललितपुरको महालक्ष्मी–१ रातामकै चोकस्थित स्वाद रेष्टुरेन्टमा जीवन् थापा सहित १० जनालाई, टिकाथलीस्थित सुरेश नापितको घरमा नापितसहित ९ जनालाई पक्राउ गरिएको छ। उक्त स्थानहरूबाट गरी करिब १३ लाख रुपैयाँ र तासका २७ बुक बरामद गरिएको प्रहरीले जनाएको छ।
काभ्रेमा बनेपा–१२ बाँसडोलका सुमन थापा सहित १३, सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारमा ढालबहादुर कार्की सहित २४, कास्कीको पोखरा–९ नयाँबजारमा सुरेश शिल्पकार सहित ६, दाङको तुलसीपुर–५ का हिमराज खड्का सहित ५ र बाँकेको कोहलपुर–१५ चौधरीया गाउँका लक्ष्मीप्रसाद बोहरा सहित ११ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो।
जुम्लाको चन्दननाथ–१ मा कृष्ण आरसीसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
सम्पूर्ण घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।