• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिबाट पुष्पलालका सहयोद्धा सम्मानित

blog

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहमा पुरस्कृतका साथमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिर : शेखर चौलागाई

गोरखापत्र अनलाइन 

काठमाडौं, असार २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय पुष्पलाल श्रेष्ठका सहयोद्धाहरूलाई पुरस्कृत एवम् सम्मानित गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७८ धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गर्नुभएको हो । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गर्नुभयो । पुरस्कारहरूको राशि सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रपति भवनमा मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७/७८ वितरण कार्यक्रममा कार्यक्रममा राष्ट्रपतिले उहाँहरूलाई सम्मानित एवम् पुरस्कृत गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कार्यक्रममा सम्बोधन गर्नुहुँदै समतामूलक राज्य व्यवस्था निर्माण गरेर मात्रै समाजवादको सपना साकार हुने बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा विभिन्न विधामा क्रियाशील व्यक्तित्व एवम् स्रष्टाहरुलाई सम्मानित गर्नु सराहनीय भएको भन्नुहुँदै उहाँले लोकतान्त्रिक एवम् वाम आन्दोलनमा पुष्पलालको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म हाम्रो संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख अर्थतन्त्र स्थापित हुन सक्दैन । यसका लागि मुलुकमा उपलब्ध साधन र स्रोतको सदुपयोगद्वारा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्ने हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।’’

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नुहुँदै उहाँका विचारलाई प्रेरणाको रुपमा लिएर देशको समृद्धिका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताउनुभयो । 

राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान गरेका राजनीतिक व्यक्तित्वहरुको दुरदर्शी विचार, मार्गनिर्देशन, त्याग र सङ्घर्षलाई सम्मान गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । 

मुलुकको प्रगतिशील राजनीतिक परिर्वतन, नेपाली राजनीतिक आन्दोलनको इतिहासको अध्ययन-अनुसन्धान र साहित्य र संस्कृतका क्षेत्रमा पुरस्कृत स्रष्टाहरुले पुर्याउनुभएको योगदानको पनि उहाँले प्रशंसा गर्नुभयो । 

नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखन कार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनको इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीनजना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम आर्थिक बर्ष २०६८/६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ ।