• २५ पुस २०८२, शुक्रबार

पाँच वर्षको दौडधुप र सङ्घर्षपछि मोहनले पाए नेपाली नागरिकता

blog

गोडियालाई नागरिकता प्रदान गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस २४ गते ।
गत पाँच वर्षदेखि नेपाली नागरिकता प्राप्तिका लागि सङ्घर्ष गर्दै आउनुभएका कोहलपुर नगरपालिका–११ का मोहन गोडियाले अन्ततः नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।

नागरिकता प्राप्तिका लागि उहाँले अड्डा–अदालतदेखि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म धाउनुपरेको थियो । तर विभिन्न निकायबाट आश्वासन मात्रै पाए पनि लामो समयसम्म नागरिकता पाउन सक्नुभएको थिएन ।

पाँच वर्षको अथक प्रयासपछि गोडियाले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको हातबाट नागरिकता प्राप्त गर्नुभयो । नागरिकता पाएपछि उहाँले भन्नुभयो, “आज मेरो खुसीको कुनै सीमा छैन । पाँच वर्षदेखि जारी नागरिकता प्राप्तिको लडाइँ आज पूरा भएको छ ।”

गोडिया राष्ट्रिय खेलाडी हुनुहुन्छ । नागरिकता नहुँदा उहाँको खेलकुद करिअर अगाडि बढाउन समस्या भइरहेको थियो भने पढाइसमेत प्रभावित भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन नियमावली चौथोपटक संशोधन भई राजपत्रमा प्रकाशित भएसँगै गोडियालाई नागरिकता प्राप्त गर्ने बाटो खुलेको हो ।

यसअघि जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता भएमा मात्र नागरिकता पाउने कानुनी व्यवस्था थियो । आमा वा बाबुको मृत्यु भएको वा बाबु वेपत्ता भएको अवस्थामा त्यस्ता सन्तान नागरिकताबाट वञ्चित हुँदै आएका थिए । पछिल्लो संशोधनले भने जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गरेको छ ।

नेपाली वंशकी महिलाबाट जन्मिएका सन्तान तथा बाबुको पहिचान खुल्न नसकेका कारण नागरिकता नपाएका नागरिकको समस्या पनि नयाँ संशोधनले सम्बोधन गरेको छ । संशोधनअनुसार आमा जीवित रहेको अवस्थामा आमाको स्वघोषणाका आधारमा र आमा निधन भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेश गरी नागरिकता लिन सकिने व्यवस्था गरिएको छ ।

गोडियाका पिता लामो समयदेखि सम्पर्कविहीन रहनुभएको छ । छोराले नागरिकता पाएपछि उनकी आमा मायाकुमारी गोडियाले छोराले न्याय पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नयाँ कानुनले नागरिकताविहीन अवस्थामा रहेका धेरै सन्तानले नागरिकता पाउने विश्वास व्यक्त गर्नुभयो ।