• २५ पुस २०८२, शुक्रबार

म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधि

blog

सुजन गौतमसहित अन्य व्यक्तित्वहरू । तस्बिर : गोरखापत्र अनलाइन

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, पुस २४ गते ।
म्याग्दीको मालिका गाउँपालिका–६, दरवाङका सुजन गौतमले अमेरिकाको युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नु भएको छ ।

सौर्यवायु र अन्तरिक्ष वातावरणसम्बन्धी गहिरो अनुसन्धान गर्दै उहाँले यो उपलब्धी हासिल गर्नु भएको हो, जसले सौर्य आँधी र अन्तरिक्ष मौसम बुझ्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शीर्षकमा अनुसन्धान गरी विद्यावारिधि हासिल गर्नु भएको हो । उहाँको अनुसन्धान सूर्यबाट निस्कने सौर्य वायु र त्यसमा हुने अस्थिरता तथा सौर्यवायुमा हुने झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावसम्बन्धी गहिरो वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ ।

विश्वविद्यालयमा रहेको अन्तरिक्ष विज्ञान विभाग तथा अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’ मा विश्वप्रसिद्ध वैज्ञानिक प्रा.डा. ग्यारी जैंकको निर्देशनमा रहेर अनुसनधान सम्पन्न गर्नुभएको हो ।

गौतमले अध्ययन अवधिमा अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय वैज्ञानिक जर्नलहरूमा थुप्रै अनुसन्धानपत्रहरू प्रकाशित गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनहरूमा आफ्ना अनुसन्धान प्रतिवेदनहरू प्रस्तुत गरिसक्नु भएको छ । उहाँले भन्नुभयो, ‘‘ग्रामीण क्षेत्रको सामान्य परिवारबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुग्दा धेरै सङ्घर्ष, धैर्य र निरन्तर मिहिनेतको लगानी छ ।’’

सूर्य र अन्तरिक्षमा हुने गतिविधिले पृथ्वीको सेटालाइट स्टिम, रेडियो सञ्चार, मौसम र दैनिक जीवनमै असर पार्ने भएकाले सानैदेखिको रुची अनुसार जटिल र चुनौतिपूर्ण भए पनि अन्तरिक्ष विज्ञानको अनुसन्धानमा लागेको गौतमले बताउनु भयो ।

अन्तरिज्ञ विज्ञान तथा सौर्य वायुसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना छ । त्रिभुवन विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पूरा गरेर सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलको ‘डिपार्टमेन्ट अफ स्पेस साइन्स’मा जानुभएको थियो ।

गौतमले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एन्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रूपमा आफ्ना अनुसन्धानहरू गर्दै आउनु भएको थियो ।