• २५ पुस २०८२, शुक्रबार

स्वास्थ्य सूचकाङ्कमा डुडुवा गाउँपालिका पहिलो

blog

डुडुवा गाउँपालिकालाई सम्मानित गर्दै प्रदेश स्वास्थ्य मन्त्री सारुलगायत । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस २४ गते ।
स्वास्थ्य कार्यक्रमहरुको सूचकाङ्कमा बाँकेको डुडुवा गाउँपालिकाले जिल्लाकै पहिलो स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

विभिन्न ३२ वटा इन्डिकेटरबाट प्राप्त ९० अङ्क र स्वास्थ्य कार्यालयले प्रदान गर्ने १० अङ्क गरी कूल १०० अङ्कमध्ये ७९.३६ प्रतिशत अङ्क ल्याएर डुडुवा गाउँपालिका बाँकेमा प्रथम भएको हो ।

स्वास्थ्य सूचकाङ्कमा जानकी गाउँपालिकाले ७५.२१ प्रतिशत अङ्क प्राप्त गरेर दोस्रो स्थान प्रापत गरेको छ भने ७१.९७ प्रतिशत अङ्क ल्याएर खजुरा गाउँपालिका तेस्रो भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार सो क्रममा राप्तीसोनारी गाउँपालिका चौथो, नरैनापुर गाउँपालिका पाँचौँ, बैजनाथ गाउँपालिका छैटौँ, कोहलपुर नगरपालिका सातौँ र नेपालगन्ज उपमहानगरपालिका आठौँ स्थानमा रहेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, टीबी, क्षयरोग, पोषण लेखाजोखा, सुशासन लगायतका सूचकाङ्कलाई आधार बनाएर मूल्याङ्कन गरिएको बताउनुभयो ।

उहाँले यी सबै सूचकाङ्कका आधारमा मूल्याङ्कन गर्दा डुडुवा, जानकी र खजुराको कार्यसम्पादन उत्कृष्ट देखिएको जनाउँदै अन्य पालिकाहरूको कार्यसम्पादनलाई समेत सुधार गरेर अघि बढ्न सुझाव दिइएको बताउनुभयो ।

कार्यसम्पादनमा उत्कृष्ट भएका डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरी, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना र खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओलीलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले दोसल्ला ओढाएर सम्मानसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेद्वारा नेपालगन्जमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिका जनस्वास्थ्य कार्यक्रमहरूको समीक्षा तथा कार्ययोजना गोष्ठीमा उहाँहरुलाई सम्मानित गरिएको हो ।