• १३ साउन २०८१, आइतबार

मृतकको परिवारलाई बीमा वापतको पाँच लाख हस्तान्तरण

blog

मृतकका बुवालाई रकम हस्तान्तरण गर्दै, तस्विर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार २८ गते । जेसिबीले पल्टाएको ढुङ्गाले लागेका मृतक गगन रायमाझीका बुबा हरिबहादुर रायमाझीलाई निर्माण व्यवसायीका प्रतिनिधि डोलबहादुर कुँवरले पाँच लाख रुपियाँ हस्तान्तरण गर्नुभएको छ । 

जेठ २६ गते विद्यालय हिँडेका मुसिकोट नगरपालिका वडा नम्वर २ का १४ वर्षीय रायमाझीको बाटो खनिरहेको जेसिबीले पल्टाएको ढुङ्गा लागेर ज्यान गएको थियो ।

उक्त रकम मङ्गलबार जिल्ला प्रशासन कार्यालय गुल्मीको रोहवरमा पीडितका बुवालाई हस्तान्तरण गरिएको हो । 

मुसिकोट नगरपालिका ३ ठुलापोखरामा बाटो निर्माणको जिम्मा पाएको सूर्य कन्ट्रक्सन सुर्खेतले बोमबहादुर भाटलाई पेटी ठेक्का दिएको थियो ।

भाट र जेसीबी चालक जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा छन् । चालक १८ वर्षभन्दा मुनिको भएकाले चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । चालकले लाइसेन्स विना नै जेसीबी चलाएका थिए ।

अदालतमा थुनछेक बहसका लागि फाइल पेस गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पछिल्लो समय गुल्मीमा निर्माण व्यवसायीहरुले कम उमेरका किशोरहरुलाई विना लाइसेन्स सवारी चलाउन दिने गरेको पाइएकाले सचेतनाका कार्यक्रम र निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । पहिले सचेतनाका कार्यक्रमहरु गर्ने र सुधार नभएमा कानुन अनुसारको कारवाही गर्ने उहाँले बताउनुभयो ।