• २ असार २०८१, आइतबार

तानसेनमा विद्युतीय भुक्तानी सुरु

blog

रेखीराम राना

पाल्पा, असार २८ गते । तानसेन नगरपालिकाले पहिलो पटक विद्युतीय भुक्तानी सुरु गरेको छ । सेवाग्राहीको सहजताका लागि नगरपालिकाले जिल्लामै पहिलो पटक विद्युतीय भुक्तानी सुरुवात गरेको हो । 

तानसेन नगरभित्रका उपभोक्ता, सेवाग्राही तथा आम नगरवासीका लागि घरमै बसेर नगरपालिकाको सेवा लिन सकिने गरी विद्युतीय भुक्तानी सुरुवात गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई वार्षिक रुपमा तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न मिल्ने गरी यसको व्यवस्था गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । यो सेवा सुरु हुनासाथ नगरपालिकामा आएर लाइन बस्नुपर्ने, समय र अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता हटेको प्रमुख श्रेष्ठले बताउनुभयो । 

तानसेन नगरपालिकाको एकीकृत कर प्रणालीमा दर्ता भएका करदाताले विद्युतीय (इ–पेमेन्ट) भुक्तानीको सेवा लिन सक्नेछन् । विद्युतीय भुक्तानी प्रणालीमार्फत नगरबासीहरूले सम्पत्ति कर, भूमिकर, व्यवसाय कर तथा अन्य कर भुक्तानी गर्न सक्नेछन् । नगरबासीले घरमै बसेर आफ्नो करदाता पोर्टल र इन्टरनेटको मध्यमबाट घरमै बसेर विभिन्न अनलाइन एपबाट समेत भुक्तानी गर्न सक्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले जानकारी दिनुभयो । 

तानसेन नगरपालिकाको एकीकृत कर प्रणालीमा दर्ता भएका करदाताले आफ्नो कर आइडी लिँदा फोन नम्बर राख्नुपर्नेछ । यस्तै, इमेल आइडी एक पटक रजिस्ट्रेसन गरेर नगरपालिकाको अनलाइन करदाता पोर्टलमा दर्ता गर्न सक्ने र उक्त फोनमा करदाता प्रमाणीकरण र इमेलमा कर तिरेको बिलसमेत प्राप्त हुनेछ । 

विद्युतीय भुक्तानी प्रणालीले तानसेन नगरपालिकाको राजस्व शाखामा हुने भीड घट्ने र सेवाग्रहीले सहज रुपमा सेवा पाउन सजिलो भएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेयले जानकारी दिनुभयो । यो प्रणालीमार्फत सेवा प्रवाह गर्दा नगरपालिका र सेवाग्राहीलाई समेत सजिलो भएको छ, उहाँले भन्नुभयो ।