विजयकुमार साह
ढल्केबर, असार २८ गते । धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो । तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा रहेको सो प्रशोधन केन्द्रमा रहेको मेसिन मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ ।
वन उपभोक्ता समूहका अध्यक्ष श्याम गोलेले यस प्रशोधन केन्द्रमा मेन्था, क्यामामाइल, सिट्रोनेला, तमारोजा, लेमनग्रास र कडी पत्ताको तेल उत्पादन गरिने बताउनुभयो । उहाँले यहाँ उत्पादित तेल डाबरलगायत विभिन्न आयुर्वेदिक औषधि उत्पादक कम्पनीले खरिद गर्ने भएपछि बन्द अवस्थाको मेसिन पुनः चलाउने तयारी गरेको जानकारी दिनुभयो ।
प्रशोधन केन्द्र सञ्चालनमा आइसकेपछि वन उपभोक्ता समूह मातहत रहेको हरियाली समृद्ध महिला समूहलाई हस्तान्तरण गरेको अध्यक्ष गोलेले बताउनुभयो । प्रशोधन र तेल बिक्रीबाट भएको सम्पूर्ण आम्दानी महिला समूहकै हुने पनि अध्यक्ष गोलेले जानकारी दिनुभयो ।
तेल उत्पादन गर्न चाहिने जडीबुटीका बिरुवा सामुदायिक वनमै उमारिएको जानकारी दिँदै अध्यक्ष गोलेले, भन्नुभयो, “यसलगायत वन समूहसँग आबद्ध महिला समूह र स्थानीयवासीले निजी जग्गामा उत्पादन गरेको कच्चा पदार्थसमेत खरिद गरेर तेल उत्पादन गरिनेछ ।” धनुषामा तीनवटा जडीबुटी प्रशोधन केन्द्र छ । तीमध्ये दुईवटा निजी र यो एउटा मात्र समुदायमा आधारित जडीबुटी प्रशोधन केन्द्र रहेको पुष्पवलपुरका राजकुमार आलेमगरले बताउनुभयो ।