हरेक क्षेत्र तथा विषयवस्तुमा चुनौतीसँगै अवसर अन्तरनिहित हुन्छन् । यसलाई कुन रूपमा ग्रहण गर्ने भन्ने सम्बन्धमा फरक अवधारणाहरू देखापर्न सक्छन् । कतिपयको धारणामा बढ्दो जनसङ्ख्या वृद्धि संसारकै लागि खतरासूचक हो भने कतिपयका लागि थुप्रै अवसरको खानी पनि हो । वस्तुतः जनसङ्ख्या वृद्धिलाई चुनौती र अवसरका रूपमा लिइनु तर्कसङ्गत हुन्छ । यहीअनुरूपको कार्ययोजना बनाउनु उपयुक्त हुन्छ । अब छिट्टै विश्व जनसङ्ख्या आठ अर्ब पुग्दैछ । हाल विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोड रहेकोमा अबको चार महिना अर्थात् कात्तिक महिनातिर आठ अर्बको आँकडालाई छुँदै छ । यो आँकडालाई यस उचाइसम्म पुग्न महादेशबाट एसिया र अफ्रिका तथा राष्ट्रका रूपमा चीन एवं भारतको योगदान उल्लेखनीय रहेको छ ।
सन् १९८७ को यही समयमा विश्वको जनसङ्ख्या पाँच अर्ब रहेकोमा ३५ वर्षपछि यो सङ्ख्यामा लगभग तीन अर्बले थपिएको देखिन्छ । भूभागले सानो देश भए पनि जनसङ्ख्याको यो दौडमा नेपाल धेरै पछाडि परेको पाइँदैन । चार महिनामा यहाँको जनसङ्ख्या झन्डै तीन लाखले वृद्धि भएर कुल जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने अनुमान सरकारी निकायको छ ।
गुणस्तरीय स्वास्थ्य सेवाका कारणले औसत आयुमा वृद्धि, मातृ तथा शिशु मृत्यु दरमा कमी आदिको प्रभाव स्वरूप जनसङ्ख्या वृद्धि भएको मान्न सकिन्छ । वास्तवमा विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने यो तथ्याङ्क आफैँमा भयावह सागरजस्तो हो तथापि राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकी कार्यकारी निर्देशक नतालिया कनेमले यसलाई सुन्दर ढङ्गले अथ्र्याउनु भएको छ । उहाँकै शब्द सापट लिनुपर्दा, ‘‘यो एक सफलताको कथा हो । प्रलय दिनको परिदृश्य होइन । चुनौतीका बीच पनि हाम्रो विश्व इतिहासको अहिलेसम्मकै एउटा यस्तो बिन्दुमा छ जहाँ धेरै मानिस शिक्षित र स्वस्थ जीवन बाँच्ने अवस्थामा छन् ।’’
संसारले जुलाई ११ तारिखलाई विश्व जनसङ्ख्या दिवस मनाइरहेको छ । यस सन्दर्भमा विगतमा भन्दा मानव जीवनस्तर, शिक्षा, स्वास्थ्य आदिका दृष्टिकोणबाट उन्नत भएको पाउन सकिन्छ । मानिसले शिक्षा, सूचना प्रविधिलगायत विज्ञानका अनेक क्षेत्रमा गरेका पछिल्ला उन्नतिले विश्वको मुहारमा नै परिवर्तन ल्याउन सम्भव भएको छ । हिजोका असम्भव घटना तथा विकास अहिले सामान्य रूपमा लिन थालेका छन् । यी सबै उन्नति तथा प्रगति मानव जनसङ्ख्याकै कारणले सम्भव भएको भन्दा अत्युक्ति नहोला ।
जनसङ्ख्या वृद्धिसँगै मानव इतिहासमै चुनौतीका थुप्राहरू पनि छैनन् । पछिल्लो चरणमा विश्वलाई आक्रान्त पारिरहेको जलवायु परिवर्तनको मुख्य कारक तŒव नै अनियन्त्रित जनसङ्ख्या वृद्धि र भौतिक विकासका नाममा प्राकृतिक साधन र स्रोत नासेर गरिएको विकास हो । यसैगरी धनी तथा गरिबबीचको बढ्दो असमानताले पनि समग्र मानव जातिको चुनौतीमा वृद्धि गरिरहेको यथार्थ हो । विश्वका विभिन्न भागमा देखापरिरहेका द्वन्द्व तथा अशान्तिमा पनि जनसङ्ख्या वृद्धिको हिस्साले ठूलो भूमिका खेलिरहेको तथ्यलाई बेवास्ता गर्न सकिँदैन ।
निश्चित रूपमा जनसङ्ख्या वृद्धिसँगै आगामी दिनमा विश्वमा थप चुनौती देखापर्ने छन् । खाना, नाना र छानाको थप व्यवस्थापन गर्नुपर्नेछ । यसको अर्थ चुनौतीसँगै अवसर हुँदैनन् भन्ने होइन । मानिसले वैज्ञानिक खोज अन्वेषण गरेर थप अवसर खोज्दै छ, अझ खोज्ने छ । चुनौतीको सामना गर्न तथा अवसरहरूको सदुपयोग गर्न मानव जाितबीच समन्वय तथा सहकार्य हुनु पनि त्यत्तिकै जरुरी छ । जनसङ्ख्या वृद्धिलाई मानव विकासको आधारका रूपमा विकसित गर्न दक्ष जनशक्तिका रूपमा उपयोग गर्न आवश्यक तयारी गर्नु वाञ्छनीय हुन्छ । सबैतिर जनसङ्ख्या वृद्धि अभिशाप नभई वरदान साबित होस् ।
यसका निम्ति उचित शिक्षा, स्वास्थ्य तथा लालनपालन आवश्यक पूर्वसर्त हुन् । सबै मानवको आश्रयस्थल नै यही विश्व ब्रह्माण्ड भएकाले एउटाले गर्ने कार्यको अर्कोलाई सकारात्मक वा नकारात्मक असर निश्चित रूपमा पर्ने नै छ । एकअर्कामा प्रभाव पर्ने भएकाले पनि मानवीय समन्वय तथा सहकार्यको कुनै विकल्प नै छैन । प्रकृतिको यो मनोरम क्षेत्र पृथ्वीलाई अझ स्वच्छ, हराभरा तथा हाम्रा भावी सन्ततिका लागि उत्तम वासस्थलका रूपमा विकसित गर्नु आजका शिक्षित तथा बौद्धिक पृथ्वीवासीको दायित्व एवं कर्तव्य हुन आउँछ ।