• १८ पुस २०८२, शुक्रबार

वर्ष २०२५ लाई फर्केर हेर्दा

पिएसजीको सपना साकार भएको वर्ष

blog

काठमाडौँ, पुस १८ गते । सन् २०२५ इतिहासको गर्भमा लुकिसकेको छ । विश्व खेलकुदमा केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र उत्साहका साथ सन् २०२६ प्रारम्भ भएको छ । पछिल्लो वर्ष ओलम्पिक, विश्वकप फुटबल, विश्वकप क्रिकेट, एसियाली खेलकुद जस्ता विश्व खेलकुदका महाकुम्भ मानिने कुनै प्रतियोगिता भएनन् । यद्यपि गत वर्ष त्यस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलकुद गतिविधि, घटना भए जुन विश्व खेलकुदमा सम्झनलायक रहे । तीमध्ये नेपालमा पछ्याइने प्रमुख अन्तर्राष्ट्रिय खेल गतिविधिको सङ्क्षिप्त चर्चा गरिएको छ ।

खेलकुदको राजा मानिएको फुटबलको चर्चा गर्ने हो भने सन् २०२५ मा फ्रान्सको पेरिस सेन्ट जर्मनको चर्चा बढी भयो । पिएसजी इटालीको इन्टर मिलानलाई ५–० ले हराएर च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयो । च्याम्पियन्स लिग क्लबस्तरको विश्वकै सबभन्दा ठुलो प्रतियोगिता हो । पिएसजीले पहिलो पटक च्याम्पियन लिग जितेको हो । पिएसजीले विगतमा च्याम्पियन्स लिग जित्नकै लागि लियोनेल मेसी, नेमार र किलियन एम्बापे जस्ता खेलाडीलाई महँगो रकममा टिममा आबद्ध गरेको थियो तर यी सुपरस्टार फुटलबरले लामो समय क्लबमा रहँदा पनि पिएसजीलाई च्याम्पियन बनाउन सकेका थिएनन् । कतारी धनाढ्यले टिमलाई किनेपछि नै पिएसजीले च्याम्पियन्स लिग जित्ने आशामा खेलाडीमा थुप्रै रकम खर्च गरेको थियो तर प्रशिक्षक लुइस इनरिसकेले यी सुपरस्टार खेलाडीलाई बिदा दिएर वास्तविक टिम निर्माण गर्नेतर्फ लाग्नुभयो । जसको फल पिएसजीले पायो ।

सोही वर्ष पिएसजीले फ्रेन्च लिग वान र सुपर कप लगातार चार प्रमुख उपाधि जितेको थियो । जसमा गोल मेसिन ओसमान डेम्बेलेको प्रेरणादायी प्रदर्शन रह्यो । त्यसैले डेम्बेलेले नै विश्वका सर्वश्रेष्ठ फुटबलरलाई प्रदान गरिने बालन डी ओर अवार्ड जित्नुभयो । पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएपछि डेम्बेले सो प्रतिष्ठित अवार्ड जित्न सफल भएको हो । फिफा वर्षका सर्वश्रेष्ठ खेलाडी पनि डेम्बेले नै घोषित हुनुभयो ।

यसै गरी विश्वका पाँच ठुला लिग फुटबलमध्ये लिभरपुल प्रिमियर लिग, बार्सिलोना ला लिगा, बायर्न म्युनिख बुन्डेसलिगा र नेपोली सिरि ‘ए’ च्याम्पियन बने । लिभरपुलले २० औँ पटक प्रिमियर लिग जितेर म्यान्चेस्टर युनाइटेडको कीर्तिमान बराबरी गरेको हो । चेल्सीले पनि क्लब विश्वकप फुटबल पनि जितेर सन् २०२५ लाई सम्झनलायक बनायो । सो वर्ष ढल्किँदो उमेरमा पनि अमेरिका र साउदी अरबमा व्यावसायिक फुटबल खेलिरहेका दुई महान् फुटबलर लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको चर्चा घटेन ।

क्रिकेटको कुरा गर्दा भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको चर्चा सबभन्दा बढी भयो । भारत आफ्नै भूमिमा च्याम्पियन बनेको हो । सो उपाधिलाई भारतीय महिला क्रिकेटको क्रान्ति नै मानिएको छ । उपाधि जित्ने बाटोमा भारतले सेमिफाइनलमा पछिल्ला पाँच पटकको विजेता अस्ट्रेलियाविरुद्ध सर्वाधिक रन पछ्याएर जित पारेको खेल महिला क्रिकेटको इतिहासमा अमर बन्यो ।

विश्व क्रिकेटमा चोकर्सको धब्बा दक्षिण अफ्रिकाले यसै वर्ष मेटायो । यसअघि सधैँ फाइनलमा पुगेर पराजित हुने दक्षिण अफ्रिकाकोक्रिकेट टिम सन् २०२५ मा टेस्ट क्रिकेटको विश्व च्याम्पियन बन्यो । यस वर्ष क्रिकेटका धुरन्धर केही खेलाडीको सन्न्यासले विश्व क्रिकेटलाई आश्चर्यमा पा¥यो । भारतका दुई सुपरस्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिनुभयो । अस्ट्रेलियाली क्रिकेटको एक ठुलो नाम स्टिभ स्मिथले पनि एकदिवसीय क्रिकेटलाई बाई बाई गर्नुभयो । अस्ट्रेलियाकै विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले पनि अप्रत्याशित रूपमा एकदिवसीय क्रिकेट आइन्दा नखेल्ने घोषणा गर्नुभयो ।

विश्व टेनिसमा पुरुषतर्फ इटालीका यानिक सिनर र स्पेनका कार्लोस अल्कारेजकै प्रतिद्वन्द्वीको चर्चा रह्यो । सन् २००० देखि २०२३ सम्म बिग थ्रीको नामले राफेल नाडाल, रोजर फेडरर र नोभाक जोकोभिचको विश्व टेनिसमा दबदबा बने जस्तै सन् २०२४ देखि गत वर्षसम्म पनि सिनर र अल्कारेजलाई चुनौती दिने कोही देखिएनन् । यी दुईले नै विश्व टेनिसमा अबका केही वर्ष राज गर्ने छन् भन्दा पनि फरक पर्दैन । विश्व टेनिसका चार ग्रान्डस्लाममध्ये सिनरले अस्ट्रेलियाली तथा विम्बल्डन तथा अल्कारेजले फ्रेन्च तथा अमेरिकी ओपनको ट्रफी हासिल गर्नुभयो । अस्ट्रेलियन ओपनबाहेक अन्य तीन ग्रान्डस्लामको फाइनल भिडन्त सिनर र अल्कारेजबिच नै भएका थिए । महिला टेनिसमा म्याडिसन किज, कोको गौफ, इगा स्वाइटेक र एरिना साबालेन्काले ग्रान्डस्लाम उपाधि बाँड्नुभयो । साबालेन्काले वर्षको अन्त्यमा नम्बर एक खेलाडीका रूपमा रहनुभयो ।

यसै वर्ष हेभिवेट बक्सिङका महान् खेलाडी जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भयो । यसै गरी लिभरपुलबाट खेल्ने पोर्चुगलका फरवार्ड डिएगो जोटोका २८ वर्षको उमेरमा उहाँका भाइ एन्द्रि सिल्भासँगै कार दुर्घटनामा निधन भएको घटना दुःखद रह्यो ।

सन् २०२५ मा भारतमा खो खो विश्वकप र दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना भएका थिए । जसमा नेपालले सहभागिता मात्र जनाएन, उपविजेता बनेर ठुलो गौरव हासिल ग¥यो । खो खोमा नेपालको पुरुष र महिला टिम नै उपविजेता बनेका थिए । पुरुष र महिला दुवै वर्गमा आयोजक भारतसँग फाइनलमा हारेपछि नेपाल विश्व च्याम्पियन बन्न सकेन तर खो खो विश्वकपको उपाधि भिडन्त गुमाउँदा पनि खुसी देखिए, सन्तुष्ट बने । नेपालले कुनै पनि स्तरको विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो । त्यसैले टिम गेममा नेपाली खेलकुदका लागि यो सबभन्दा ठुलो उपलब्धि बन्यो ।

त्यसपछि नेपालले  दृष्टिविहीन महिला विश्वकप क्रिकेटको फाइनल पनि खेल्यो । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमले चुपचाप, होहल्लाबिना दृष्टिविहीन टी–२० क्रिकेटमा उपविजेता बनेर क्रिकेटकै सबभन्दा ठुलो गौरव हासिल ग¥यो । नेपाली क्रिकेटलाई विश्वमा चिनाउनेमा अब नेपालको दृष्टिविहीन महिला क्रिकेट टिम पनि जोडिएको छ । नेपाल फाइनलमा भारतसँगै पराजित भएको थियो ।

यसै वर्ष नेपाली क्रिकेट टिम तेस्रो पटक टी–२० विश्वकपमा चयन भयो । नेपालले पहिलो पटक टेस्ट राष्ट्रलाई हराउनुका साथै शृङ्खला नै हासिल ग¥यो । नेपालले युएईमा भएको युनिटी कपमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० शृङ्खला २–१ ले कब्जा गरेको हो ।