• १८ पुस २०८२, शुक्रबार

घट्दै छन् उत्पादन बढाउने किरा

blog

जुनकिरीका लार्भा निक्कै खन्चुवा हुन्छन्, जसले शङ्खेकिराका हजारौँ लार्भा खाएर किसानलाई ठुलो गुन लगाइरहेका हुन्छन् तर जुनकिरीको सङ्ख्यामा कमी आएपछि धेरै जिल्लामा शङ्खेकिराको प्रकोप नै देखिएको छ । 

काठमाडौँ, पुस १८ गते । नेपालमा सरकारी निकायबाट किराको सङ्ख्या कति छ भनेर खोजी गरिएको छैन । सरकारी र गैरसरकारी निकायसँग किराको औपचारिक तथ्याङ्क नभए पनि एक दशकमा किरासम्बन्धी खोजीका क्रममा नेपालबाट २५ प्रतिशत किरा हराएका छन् । कृषि क्षेत्रका अनुसन्धानकर्ता आरपी लामिछाने संसारमा ४० प्रतिशत किराको सङ्ख्या नाटकीय रूपमा घटिरहेको जानकारी दिनुभयो । उहाँले नेपालमा पनि २५ प्रतिशतले किराको सङ्ख्यामा कमी आएको उल्लेख गर्नुभयो । 

लामो समयदेखि युरोप र अमेरिकामा किरा कसरी लोप भइरहेका छन् भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएकाबारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएका बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको लामिछाने बताउनुहुन्छ ।

अनावश्यक रूपमा बालिने कृत्रिम प्रकाशले किरा फट्याङ्ग्राको जीवनचक्रमै असर पार्न थालेको छ । त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको यो क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् ।  शरीरमा हुने रासायनिक प्रतिक्रियाले जुनकिरीले शरीरमा बत्ती बाल्छ । यसैको सहयोगमा जुनकिरीले आफ्ना जोडीलाई आकर्षित पनि गर्छ । सिमसिमे जमिन र बुट्यान क्षेत्रको प्राकृतिक प्रकाश भएको समय र अरू रातको समयमा आफ्नो शरीरबाट आउने उज्यालोमा जुनकिरीले समागम गर्दछन् । कृत्रिम प्रकाशले जुनकिरीले दिनरात छुट्याउन नसक्दा उनीहरूको सङ्ख्या निरन्तर कमी भएको विज्ञहरूले उल्लेख गरेका छन् । आकर्षक देखाउन र आफ्नो सुरक्षाका लागि मानिसले रुखमा बत्ती बाल्ने, रातभर उज्यालो बनाउने बानीले साना जनावर र किरा फट्याङ्ग्रालाई असर पारेको लामो समयदेखि कृषि र माटोको अध्ययनमा रहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धिताल बताउनुहुन्छ । 

“हामी राम्रो देखाउन रुखमा झलमल्ल बत्ती बालिरहेका हुन्छौँ । गाडीमा अनावश्यक फोकस लाइट हालेर सडकसँगै वरिपरिको वातावरणलाई नै उज्यालो पारिरहेका छौँ तर त्यसको प्रत्यक्ष सम्बन्ध रातमा टिमटिम बालेर उड्ने जुनकिरीको जीवनसँग सम्बन्धित हुने कुरा बिर्सिरहेका छौँ,” धितालले भन्नुभयो । 

साँझबिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या पारिरहेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेको धितालले प्रस्ट पार्नुभयो । त्यति ठुलो शङ्खेकिरा कसरी त्यति सानो जुनकिरीले खाने होला भनेर धेरैले सोचे पनि यो शङ्खेकिरा जुनकिरीको लार्भा अवस्था हो । जहाँ शङ्खेकिराको लार्भा नै जुनकिरीको लार्भाको मुख्य आहार हो । 

विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शङ्खेकिरालाई खाने गर्दछ । लार्भा भनेको किराको असाध्यै बढी खाने अवस्था हो । जुनकिरीको लार्भा निक्कै खन्चुवा हुन्छ, जसले शङ्खेकिराका हजारौँ लार्भालाई खाएर किसानलाई ठुलो गुन लगाइरहेका हुन्छन् तर जुनकिरीको सङ्ख्यामा कमी आएपछि धेरै जिल्लामा शङ्खेकिराको प्रकोप नै देखिएको छ । 

प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको सङ्ख्यालाई कम गराउँदै छ । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । वरिष्ठ कीट विशेषज्ञसमेत रहनुभएका आरपी मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र नभई त्योभन्दा धेरै कृषिमा उपयोगिता रहेको बताउनुहुन्छ । 

जुनकिरी मात्रै होइन, नेपालमा धेरै किराको सङ्ख्या घटिरहेको छ । किसानको सबैभन्दा नजिकको साथी माहुरीको सङ्ख्यामा कमी आउँदा त्यसले विभिन्न बालीको परागसेचनमा समस्या देखिएको छ । त्यसले कृषकको खाद्यान्न बाली मात्रै नभएर जङ्गलमा हुने कतिपय फल नै लोप हुने अवस्थामा पुगेको वैज्ञानिक मैनालीले जानकारी दिनुभयो । लामिछाने मानिसको जीवनसँग किराको ठुलो सम्बन्ध रहने भएकाले किराको संरक्षणमा विश्व समुदाय नै एक हुन आवश्यक रहेको बताउनुहुन्छ । जनावर, चरा र माछाको करिब ६० प्रतिशत खाना किरामै निर्भर हुने बताउनुभयो । किरा नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउने भएकाले त्यसमा विशेष ध्यान पु¥याउन ढिला गर्न नहुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार जमिनमा बस्ने जीवमध्ये सबैभन्दा ठुलो सङ्ख्या किराले ओगटेको हुन्छ । किराले मानिससहित अन्य विभिन्न प्रजातिलाई सहयोग गरिरहेका छन् । किराले चरा र ससाना स्तनधारी प्राणीका लागि आहार प्रदान गर्छन् । त्यस्तै विश्वको करिब ७५ प्रतिशत बाली परागसेचन किराकै माध्यमबाट हुने गर्दछ । उहाँले भन्नुभयो, “विश्वमा ४० प्रतिशत प्रजातिका किरा नाटकीय दरमा घटिरहेका छन् । त्यसको प्रत्यक्ष असर नेपाललाई समेत परेको छ । किसानका लागि उपयोगी भएका मौरी, कमिला र गोब्रे किराका प्रजाति घट्ने क्रममा रहेको तर साङ्लो र झिँगाको सङ्ख्यामा वृद्धि भएको छ,” लामो समयदेखि माटो तथा कृषिको क्षेत्रमा अध्ययनरत कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले भन्नुभयो । खेतीमा भएको कीटनाशक रसायनको प्रयोग र जलवायु परिवर्तनका कारण सामान्य किराहरूमा निरन्तर कमी आइरहेको जानकारी दिनुभयो । त्यसका लागि जैविक खेती प्रणालीलाई अँगाल्नु आवश्यक रहेको छ । 

किराले माटो भर्ने र कीट व्यवस्थापन गर्ने भएकाले तिनीहरूको सङ्ख्यामा कमी आउनु भनेको उत्पादनमै कमी आउनु रहेको उहाँले उल्लेख गर्नुभयो । किराफट्याङ्ग्राले नै विश्वको ७५ प्रतिशत उब्जनीमा सघाउने उहाँले दाबी गर्नुभयो । कृषि क्षेत्रमा भएका अभ्यास, सहरीकरण र वन जङ्गलको विनाशका कारण किराको बसोबास गर्ने ठाउँ गुम्दै जानु नै हाल सिर्जना भएको अवस्थाको मुख्य कारण रहेको दवाडी बताउनुहुन्छ । विश्वमा नै उड्ने जातको किराको सङ्ख्यामा अरू किराको तुलनामा धेरै कमी आएको उहाँको भनाइ छ । चरा, स्तनधारी प्राणी र माछा जस्ता जीवका लागि किरा मुख्य आहार भएकाले त्यस्ता जनावरको समेत अस्तित्व सकिने खतरा रहेको बताउनुभयो ।

  

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।