• १७ पुस २०८२, बिहिबार

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु

blog

क्रान्स-मोन्टाना (स्विजरल्यान्ड), पुस १७ गते । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भिडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन् । दक्षिणपश्चिमी स्विट्जरल्यान्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यस घटना ‘गम्भीर’ भएको उल्लेख गरिएको छ ।

प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १:३० बजे (००:३० जिएमटी) ‘ले कन्स्टेलेसन’ नामक बारमा विस्फोट र आगलागी सुरु भएको थियो । भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए । घटना स्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धार कर्मीको ठुलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ ।

क्षेत्रीय दैनिक समाचारपत्रका अनुसार मृत्युको सङ्ख्या लगभग ४० हुनसक्ने अनुमान गरिएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिस चिच्याउँदै भागि रहेको दृश्य देखाइएको छ ।

प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतशबाजी प्रयोग गर्दा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । लाथिओनले भन्नुभयो, “अपरेसन अझै जारी छ र प्रभावित क्षेत्र जनताका लागि पूर्णरूपमा बन्द गरिएको छ । क्रान्स मोन्टानामा नो-फ्लाई जोन लागु गरिएको छ ।” घटनास्थलमा एम्बुलेन्सको ठुलो भिड देखिएको थियो र अधिकारीले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन् । रासस/एएफपी