• १७ पुस २०८२, बिहिबार

तिलाठी कोइलाडी गाउँपालिका बाल विवाहमुक्त घोषणा

blog

तिलाठी कोइलाडी गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, पुस १७ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह न्यूनीकरण गर्दै समाजलाई स्वस्थ र सुरक्षित बनाउने उद्देश्यसहित स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न सङ्घ–संस्था, विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका अगुवाको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

घोषणा समारोहमा वक्ताहरूले बाल अधिकार सुनिश्चित गर्न बाल विवाह अन्त्य अपरिहार्य रहेको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँहरूले बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने र कानुनी व्यवस्था कार्यान्वयनमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिनु भयो ।

सो कार्यक्रममा बाल विवाहविरुद्ध सामुदायिक प्रतिबद्धता सार्वजनिक गरिएको थियो । विद्यालय, अभिभावक, महिला समूह तथा युवा समूहले बालविवाह हुन नदिन सक्रिय भूमिका निर्वाह गर्ने सङ्कल्पसमेत व्यक्त गरेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्ण, प्रेस जनमतका केन्द्रीय अध्यक्ष अवधेश झा, नेपाल पत्रकार महासङ्घ सप्तरीका सल्लाहकार वैद्यनाथ यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकरबहादुर सार्की तथा बालकल्याण अधिकारी शैलेन्द्र सिंहले शुभकामना मन्तव्य व्यक्त गर्दै पालिकामा बालविवाह हुन नदिन सरोकारवाला सबै सधै निगरानी गरिरहनु पर्ने बताउनु भएको थियो ।