जनार्जन खत्री
सर्लाही, पुस १७ गते । सर्लाहीमा एक सातापछि बिहीबार पारिलो घाम लाग्दा सर्वसाधारणले चिसोबाट राहत पाएका छन् । निरन्तर बाक्लो हुस्सु लागेर शीतलहर चल्दा यहाँको जनजीवन असाध्य कष्टकर बनेको थियो । बिहीबार मध्यान्हबाट भने बाक्लो हुस्सु र शीतलहर रोकिएर पारिलो घाम लाग्न थालेको हो ।
लालबन्दी नगरपालिका–१५, चिसापानीस्थित जनमुखी कृषि फार्मका सञ्चालक बिक्रम भण्डारीले चुरेवर्ती क्षेत्रमा बिहीबार बिहानदेखि बल्ल पारिलो घाम लाग्दा मानिससँगै चौपाया र पक्षीलाई राहत मिलेको बताउनुभयो । एक सातासम्म निरन्तर शीतलहर चलेर घाम नै नलाग्दा किसानलाई आफूले पालेको चौपाय र पक्षी जोगाउन हम्मेहम्मे पर्न थालिसकेको थियो । एक हप्तापछि घाम लाग्दा स्थानीय नुहाइधुवाइको काममा व्यस्त देखिएका छन् ।
घाम नलागेर कपडा नसुक्दा स्थानीय हैरान थिए । चिसोले कठ्याङग्रिएका बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिहरुलाई समेत एक सातापछिको घामले न्यानो प्रदान गरेको छ ।
विपन्न तथा पिछडिएको दलित बस्तीहरूमा निरन्तरको चिसोपछि पारिलो घाम लाग्दा जनजीवन सहज बनेको छ । मलङ्गवा नगरपालिका–८, का स्थानीय शिवचन्द्र चौधरीले सदरमुकाम क्षेत्रमा १० दिनपछि बिहीबार दिउँसाेबाट बल्ल पारिलो घाम ताप्न पाइएको जानकारी दिनु भयो ।
चिसो अत्यधिक बढेपछि जिल्लाको लालबन्दी, हरिवन, गोडैता र चन्द्रनगरमा विद्यालयसमेत बिदा दिइएको थियो । एक सातापछि घाम लाग्दा ज्याला मजदुरीमा निस्कने मजदुर र खेतबारीको काममा जानु पर्ने किसानलाई समेत सहज भएको छ ।
हुस्सु र शीतलहरका कारण भर्खरै फूलेको तोरीसहितका बालीमा लाही कीराको प्रकोप अत्यधिक देखिएको किसानले गुनासो गरेका छन् ।