वासिङ्टन, पुस १७ गते । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चार वटा तेल ट्याङ्करलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो ।
मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार यी प्रतिबन्ध भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन् । भेनेजुएलाको तेल ओसार पसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्याङ्करलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भन्नुभयो, “राष्ट्रपति ट्रम्प स्पष्ट हुनु हुन्छ-अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले संयुक्त राज्य अमेरिकामा घातक लागु पदार्थको बाढी ल्याइरहेको छ ।” उहाँले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशन अनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागि रहने पनि स्पष्ट पार्नुभयो ।
राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि संयुक्त राज्य अमेरिकालाई अस्थिर पार्ने उद्देश्यसहित ‘नार्को-आतङ्कवादी’ शासनको नेतृत्व गरिरहेको आरोप लगाउँदै आउनु भएको छ । पछिल्लो प्रतिबन्ध घोषणामा पनि यही दाबी दोहोरिएको छ । आधिकारिक सूचनाअनुसार प्रतिबन्धको दायरामा परेका जहाज मध्ये केही भेनेजुएलासँग सम्बन्धित तथाकथित ‘छाया फ्लीट’ (स्याडो फ्लिट)का हिस्सा हुन्, जसले मदुरोको अवैध शासनलाई इन्धन आपूर्ति गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराइरहेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “मदुरोको शासन प्रतिबन्धबाट जोगिन र प्रतिबन्ध योग्य गतिविधि सहज बनाउन विश्वव्यापी जहाजको छाया फ्लीटमा बढ्दो रूपमा निर्भर हुँदै आएको छ । यिनै माध्यमबाट शासनले आफ्ना अस्थिर गतिविधिका लागि राजस्वसमेत आर्जन गरिरहेको छ । आजको कदमले भेनेजुएलाको तेल व्यापारमा संलग्न अझै पनि गम्भीर प्रतिबन्धको जोखिममा रहेको सन्देश दिन्छ ।”
यसैबिच, राष्ट्रपति ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ता त्याग्नु ‘बुद्धिमानी कदम’ हुने टिप्पणी गर्नु भएको छ । संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी मुलुकमाथि सैन्य तथा आर्थिक दबाब बढाइ रहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो । मदुरोलाई जबरजस्ती सत्ताबाट हटाउने उद्देश्य नै प्रशासनको रणनीति हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्प अन्तिम नतिजाबारे स्पष्ट प्रतिबद्ध देखिनु भएन ।
तर उहाँले मदुरोलाई दिइएको सल्लाहबारे भने खुला रूपमा धारणा व्यक्त गर्नुभयो । “मलाई लाग्छ, सम्भवतः त्यस्तो हुन सक्छ”, उहाँले भन्नु भयो, “यो उहाँले के गर्न चाहनु हुन्छ भन्ने कुरामा निर्भर छ । मलाई लाग्छ, उहाँले सत्ता छोड्नु बुद्धिमानी हुने छ । अब के हुन्छ, हामी हेर्ने छौँ ।” राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि अमेरिकालाई गम्भीर क्षति पुर्याएको आरोप पनि दोहोर्याउनु भयो ।
उहाँका अनुसार लाखौँ मानिस खुला सीमाबाट अमेरिका प्रवेश गरेका छन् । “उनीहरूले आफ्ना अपराधी, बन्दी, लागु औषध व्यापारी र मानसिक रूपमा अस्थिर तथा अयोग्य मानिस हाम्रो देशतर्फ पठाएका छन्, अन्य कुनै पनि देशभन्दा बढी,” उहाँले भन्नु भयो । रासस/एएनआई