• १७ पुस २०८२, बिहिबार

बाजुरामा बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन

blog

कृषि ज्ञान केन्द्रको आयोजनामा स्याउ बगैंचामा, सुदृढीकरण तथा व्यवस्थापन गर्दै कृषि प्राविधक तथा किसान । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, पुस १७ गते । बाजुरामा कृषि ज्ञान केन्द्रले स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्यक्रम अन्तर्गत यहाँका स्याउ सुन्ताल र ओखर किसान खेती गर्दै आएका किसानलाई फलफूल खेती उत्पादन तथा वृद्धि विकासमा सहज हुने कृषि ज्ञान केन्द्र बाजुराले कार्यक्रम सञ्चालन गरेको हो । 

किसानले लगाएको स्याउ, सुन्तला र ओखरमा लाग्ने रोग हट्ने र उत्पादन पनि राम्रो हुने गरेकोले यहाँका किसानका लागि सहज हुने गरी बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

हामीले लगाउँदै गरेको स्याउ एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने गर्छन् । यही समस्याको समाधान हुने गरी कृषि ज्ञान केन्द्र बाजुराले यो कार्यक्रम सञ्चालन गरेको बुढीनन्दा नगरपालिका–९ का स्थानीय स्याउ किसान मानबहादुर रावतले बताउनु भयो । उहाँले भन्नुभयो, “बगैँचा सुदृढीकरण तथा व्यवस्थापनका लागि आवश्यक चाहिने बोर्डपेस्टर, सिकेचर र भर्‍याङ लगायतका सबै सामग्रीसहित कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ ।”

फलफुल खेती काँटछाँट तथा रोगलाई कसरी नियन्तरण गर्ने जस्ता कुराको जानकारीका लागि समेत एक महिना सम्म तालिम दिने गरेपछि फलफूल खेती गर्न निकै सहज हुने भएको रावतले बताउनु भयो । कृषि ज्ञान केन्द्र बाजुराले यहाँको ९ वटै स्थानीय तहमा रहेका स्याउ, सुन्तला र ओखर उत्पादन गर्दै आएका किसानलाई काँटछाँट र पेस्ट लगाउने तरिकाका बारेमा एक महिने तालिम सञ्चालन गरिएको छ । 

स्याउ किसानलाई बगैँचा सुदृढीकरण तथा व्यवस्थापन गर्ने कुनै अनुभव नहुँदा यो भन्दा पहिला उनीहरूले लगाउँदै आएका स्याउ, सुन्तला र ओखर कहिले फल्ने कहिले नफल्ने र कम फल्ने र बिरुवा सुक्ने रोग लाग्ने गरेको थियो । 

ज्ञान केन्द्र बाजुराले उनीहरूको यो समस्या समाधान गर्ने हुने गरी यती बेला यो कार्यक्रम सञ्चालन गर्दै आएसँगै अहिले यहाँका किसानले लगाउँदै आएका स्याउ सुन्तला र ओखरमा रोग नलाग्ने प्रत्येक वर्षमा फल्ने आसमा रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनु भयो । उहाँले भन्नु भयो,“ यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा बडीमालिका, गौमुल बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका किसानले पछिल्लो समय स्याउ सुन्तला र ओखर खेती गर्दै आएका छन् । 

यो अभियानले यहाँका स्याउ तथा सुन्तला खेती गरिरहेका कृषकलाई फलफूल उत्पादनमा सहज हुन्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका छन् । अहिले स्याउका बोटमा पात झरेर उजाड बनेका बेला यो कार्यक्रम सञ्चालन गर्दा राम्रो हुन्छ । सामान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघको महिना गरिन्छ । 

बाजुरामा चार सय दस हेक्टर जमिनमा स्याउ खेती गरिने भए पनि दुई सय हेक्टर जमिनमा मात्र स्याउ फल्छ । यसमा १६ सय मेट्रिकटन उत्पादन हुन्छ । त्यसैगरी १७० हेक्टर जमिनमा  सुन्तला खेती गरिन्छ भने त्यसमा एक सय दस हेक्टर जमिनमा फल्छ । त्यसमा ७७५ मेट्रिकटन मेन उत्पादन हुन्छ ।  त्यसै गरी ३३० हेक्टर जमिनमा ओखर खेती गरिने भएपनि २७ हेक्टरमा मात्र फल्छ । त्यसमा ७० मेट्रिकटन ओखर उपादन हुने गरेको छ । 

बाजुरामा स्याउ र सुन्तला राम्रो र बढी उत्पादन हुने गरेकोले यो जिल्ला भन्दा बाहिर समेत बिक्री हुने गरेको छ । यहाँ ओखर कम उत्पादन हुन्छ । त्यो जिल्लामा मात्र बिक्री हुने गरेको  कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनी बताउनु भयो ।