अमरराज नहर्की
तनहुँ, पुस १७ गते । गण्डकी प्रदेशको मौलिक पहिचान बोकेको लोपोन्मुख ‘ठाडोभाका’ लोकगीतको संरक्षण र पुस्तान्तरणका लागि तनहुँको व्यास नगरपालिकाले विशेष सक्रियता देखाएको छ ।
नगरपालिकाले स्थापना गरेको व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘लोक संस्कृतिको उत्थान एवम् संरक्षण– हाम्रो अभियान’ भन्ने नाराका साथ दमौलीमा तीन दिने प्रशिक्षण कार्यक्रम आज शुक्रबारबाट सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख एवं प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले मौलिक कला र संस्कृति नगरको अमूल्य सम्पत्ति भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “हाम्रो पहिचान झल्काउने ठाडोभाकाजस्ता मौलिक संस्कृति हराउँदै जानु चिन्ताको विषय होस यसको जगेर्ना र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नु नगरपालिकाको मुख्य दायित्व ठानेर हामीले यो पहल गरेका हौँ ।’’
उपप्रमुख ईन्दिरा दरैले स्थानीय संस्कृतिको संरक्षणले नगरको पर्यटन र पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँका अनुसार नगरपालिकाले भौतिक विकाससँगै भाषा र संस्कृतिको संवर्धनलाई पनि उत्तिकै प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तय गरेको छ ।
प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेले ठाडोभाका केवल गीत मात्र होइन, यो हाम्रो समाजको जीवन्त इतिहास र कलात्मक अभिव्यक्ति भएको संरक्षणको लागि कदम चालिएको बताउनु भयो । न्यौपानेले भन्नुभयो, ‘‘यसको व्याकरण र गायन शैलीलाई जीवन्त राख्न यस्ता प्रशिक्षण अपरिहार्य छन् ।’’
पुस १९ गतेसम्म चल्ने यस प्रशिक्षणमा ठाडोभाकाका प्रख्यात गायक बुद्धिमान दुरा (धम्पु) ले मुख्य प्रशिक्षण दिनु भएको छ । अन्य प्रशिक्षकहरूमा सीता दुरा, अक्कल बिरही गुरुङ र अनिता गुरुङले प्रशिक्षण दिइरहनु भएको प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले जानकारी दिनु भयो । लमजुङ हुँदै तनहुँका विभिन्न स्थानमा यो भाका फैलिँदै गएको र पुस्तान्तरणका लागि प्रशिक्षण राखिएको बस्नेत बताउन हुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ र दुरा सेवा समाजको सहकार्यमा सञ्चालित यस कार्यक्रमले भेडिखर्के साइँलोले जोगाएको विरासतलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।
कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङ, नेपाली कांग्रेसका व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले, नेकपा एमाले व्यास नगर सभापति तुलसी पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका मङ्गलप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरका सभापति चुडामणि दाहाल लगायतले यस्ता कार्यक्रमले नेपाली मौलिक भाको संरक्षण सम्वर्धन र भावी पुस्तालाई रुची बढाउन टेवा पुग्ने हुँदा निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो ।