बिकास अधिकारी
पश्चिम नवलपरासी, पुस १७ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा १२ मा रहेको कजरिया टायल्स उद्योगमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ । गएराति टायल बनाउने क्रममा ग्यासको प्रयोग गरेर काम गरिरहेका दुई जना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक जना बर्दघाट–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेशको प्रतापगढका ३० वर्षीय विनोदकुमार रहेका छन् ।
उद्योगले कामदारको सुतिरहेको अवस्थामा मृत्यु भएको दाबी गरे पनि स्थानीय र मृतकका आफन्तले अहिले उद्योगको लापरबाहीले मृत्यु भएको भन्दै उद्योग विरुद्ध प्रर्दशन गरिरहेका छन् । तनावको अवस्था सृजना भएपछि अहिले प्रहरी परिचालन गरिएको छ । रातिनै मजदुरको मृत्यु भएको भए पनि उद्योगले बिहान ढिलो गरी मात्रै प्रहरी र मृतकका आफन्तलाई खबर गरेको स्थानीयको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताउनु भयो ।
रातिको समयमा मजदुरलाई आवश्यक पर्ने कामदार सुरक्षाका सामाग्री बिनै काममा लगाएको, सास फेर्न कठिन भएको जानकारी गराउँदा समेत उद्धार नगरेका कारण मृत्यु भएको र घटना ढाकछोप गर्ने प्रयास गरेको मृतकका आफन्तको आरोप छ ।
ग्यास भएको क्षेत्रमा काम गर्नुपर्ने भएकाले उनीहरूको अक्सिजनको अभावमा मृत्यु भएको अनुमान गरिएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागी लान समेत मृतकका आफन्तले दिएका छैनन् ।