रमेश विश्वकर्मा
गुल्मी, पुस १७ गते । गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ। कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवर्धन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो।
रिडी माघे सङ्क्रान्ति मेलाको अवसरमा यही माघ १ गतेदेखि ३ गतेसम्म रुरुक्षेत्र गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाको सहकार्यमा कृषि मेला प्रदर्शनी हुन लागेको हो।
कृषकलाई प्रविधिको बारेमा जानकारी गराउनुका साथै कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवर्धन तथा प्रचारप्रसारका लागि कृषि मेलाको आयोजना गर्न लागिएको छ। उत्पादित कृषिजन्य वस्तुलाई प्रदर्शनीमा ल्याउनका लागि सबै कृषकलाई आग्रह गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो।
कृषि मेला प्रदर्शनीमा खाद्यान्न बाली (घोघा तथा बाला वा झोप्पासहित), तरकारी, आलु, टमाटर तथा कोसेबाली (बोटसहित), कन्दमुलरजरेबाली (सिङ्गो), मौरी (चाकासहित), कफी तथा अमिलो जातका फलफूल (हाँगासहित), मसला बाली, बिउबिजन, स्थानीय तथा रैथाने बाली लगायतका विभिन्न बालीहरू ल्याउनु पर्ने छ।
प्रदर्शनी भएका कृषिजन्य वस्तुहरूलाई विभिन्न विधामा वर्गीकरण गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिने छ। प्रथमलाई पाँच हजार, द्वितीयलाई चार हजार, तृतीयलाई तीन हजार र सान्त्वनालाई दुई हजार रुपियाँ नगद पुरस्कार नियमानुसार प्रदान गरिने छ। कृषि मेला प्रदर्शनीले कृषि उत्पादनमा विशेष टेवा पुर्याउने बताइएको छ।