• १७ पुस २०८२, बिहिबार

धनकुटामा सुन्तलाको उत्पादन बढ्दो

blog

कोकिला भण्डारी 

धनकुटा, पुस १७ गते । धनकुटा नगरपालिका ३ का किसान खेमप्रसाद भण्डारीको बगानमा सुन्तला पाकेर लटरम्मै देखिएको छ । पहेँलै बनेको सिएओ एकीकृत कृषि फार्ममा सुन्तला पाकेर पहेँलै देखिएकाले यतिबेला घुमौँघुमौँ लाग्छ । 

प्रधानमन्त्री आधुनिकीकरण परियोजना तेह्रथुम, परियोजना कार्यान्वयन एकाइ धनकुटाले धनकुटा ३ लाई सुन्तला जोनमा विभाजन गरी रोगकिरा नियन्त्रणका लागि भन्दै औंसाकिरा नियन्त्रण गर्न दिएको अनुदानले सुन्तलाको उत्पादन बढेको छ । 

कृषि प्रणालीभित्र व्यावसायिक सुुन्तला खेती, हेर्न, बुुझ्न र अध्ययन गर्न दैनिक बगानमा पुुग्ने निकै हुुन्छन् । करिब दुई सय सुन्तलाको बोट रहेको यो बगानमा यो वर्ष सुन्तला पनि निकै राम्रो फलेको छ । 

“एक बोटमा करिब पचास किलोभन्दा बढी सुन्तला होला, गतवर्षको तुलनामा यस वर्ष दाना राम्रा र ठुला छन्,” भण्डारीले  भन्नुुभयो, “तर यहाँ ठुला व्यापारी छैनन्, भनेजति मूल्य व्यापारीले हाल्दैनन् । बाँदरदेखि सुन्तला जोगाउन भने त्यति सजिलो छैन ।” गतवर्ष १ लाख ५० हजार रुपियाँमा बिक्री भएको भण्डारीको बगानमा यस वर्ष मूल्य पनि २ लाख पचास हजारभन्दा माथि नै हुुने सहजै अनुुमान गर्न सकिन्छ ।

२०५२-५३ सालदेखि सुन्तला खेती सुरु गरेका भण्डारीले भन्नुुभयो, “अहिले यस्तो बगान भेट्न गाह्रो छ, बाँदर आतङ्कका कारण धेरै बगान मासिइसकेका छन् । धनकुटा कागतेका अधिकांश किसान बाँदरको आतङ्कका कारण वैकल्पिक खेतीको खोजीमा छन् ।

त्यसैले पनि होला अहिले बगान हेर्न आउने धेरै हुन्छन् ।” भण्डारीको मिहिनेत पनि सिकाइयोग्य छ । किरा लागेर सुन्तला झरेमा छुट्टै व्यवस्थापन गर्नुुपर्छ,” भण्डारी भन्नुुहुुन्छ, “सुुन्तला बगान बनाउन र यसको स्याहार गर्न त्यति सजिलो छैन । दिनरात परिवार नै खट्दा मात्र यतिको बगान बनाउन र बगान बचाउन सकेका छौँ ।”

करिब ६ रोपनी जमिनमा सुन्तला लगाएका भण्डारीले सुकेका बोट र बिचमा रहेका साना बोट हटाएर नयाँ बिरुवा पनि थप्दै हुनुहुन्छ । त्यसो त बिहान उज्यालो हुँदा बगानमै पुग्ने भण्डारी परिवार साँझसम्म पनि बाँदरको निगरानी, सुन्तलाको स्याहारसुसार, किरा नियन्त्रण, सिँचाइमा व्यस्त भेटिनुहुन्छ ।

गएको वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजजना तेह्रथुम, परियोजना कार्यान्वयन एकाइ धनकुटाबाट बगान व्यवस्थापनका लागि खनजोत गर्ने मिनिटिलर र रोगकिरा नियन्त्रणका लागि भन्दै औंसा किरा नियन्त्रणका लागि अनुदान पाउनुुभएका भण्डारीलाई डिभिजन वन कार्यालयले पनि फलफूल तथा वनजन्य खेतीका लागि अनुदान दिएर हौसला बढाएको छ । थोरै अनुुदानले मात्र किसानलाई नहुुने भण्डारीको भनाइ छ ।

“अहिले सबै जसो युुवामा विदेश जाने लहर छ तर स्थानीय, प्रदेश र केन्द्रीय सरकारले ती युवालाई रोक्न कृषि विस्तारमा लगानी गर्नुपर्छ,” भण्डारी भन्नुुहुुन्छ, “सुुन्तला, एभोकाडो, कफी, चिया, अलैंची जस्ता नगदे बालीबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी हुुन्छ, विदेश जाँदा हुुने लगानीमा सरकारले थप गरिदिएर ती युवालाई कृषिमा लगाउनुु र उत्पादित वस्तुुको बजार व्यवस्थापन गर्ने हो भने आर्थिक समृद्धिका लागि अरू केही गर्नुपर्दैन ।”

कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य पुस सकिन लाग्दा समेत अहिले प्रतिकिलो १२० रुपियाँदेखि दुुई सय रुपियाँसम्म छ । तराईका बजारमा भन्दा धनकुटाका बजारमा सुन्तलाको मूल्य आकासिँदो छ । धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन् । भण्डारी भने बर्सेनि सुकेका बाेट नहटाउँदै नयाँ बिरुवा रोप्ने गर्नुहुन्छ । बाँदरको समस्या र बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । विभिन्न सङ्घ संस्थाको अनुदान सहयोगमा यस वर्ष गतवर्षको भन्दा राम्रोगरी फल लागेको किसान बताउँछन् ।

गतवर्ष सुन्तलाको उत्पादित जम्मा क्षेत्र ८ सय बहत्तर हेक्टर थियो भने ५ सय दुई हेक्टर क्षेत्रफलमा मात्र २६ सय त्रिहत्तर मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त कार्यालय प्रमुख नगेन्द्रबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार गतवर्षको तुलनामा यस वर्ष १० देखि १५ प्रतिशत उत्पादन बढेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले यस वर्षको भने भर्खरै सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै गरेको छ ।

सुन्तला खेती अभियानका लागि पुराना बगैंचा व्यावस्थापन कार्यक्रममार्फत व्यापक रुपमा भइरहेको सुन्तला खेतीमा रोगकिराका लागि विषादि, सिँचाइका लागि पाइप, पावर स्प्रेलगायतका अनुदान समेत वितरण गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

धनकुटा नगरपालिका–३, कागते, पात्ले, वडा नं ४ देब्रेवास, वडा नम्बर १० पारिपात्लेलगायतका क्षेत्रमा सुन्तला बढी उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । धनकुटामा उत्पादित सुन्तला जिल्लाबाहिरका धरान, विराटनगर, काठमाडाैं, काकडभिट्टा हुँदै सिलगुरीसम्म जाने गरेको छ । सुन्तलाको बजार खोजिरहनु नपर्ने व्यापारीहरु घरैमा आएर बगानै मोलेर लाने गरेका छन् । उत्पादन बढेकाले बजारमा सुन्तलाको मूल्य भने कम भएको स्थानीय व्यापारीहरुको भनाइ छ । 

यता धनकुटा नगरपालिकाले भने सुन्तला किसानहरुको उत्पादन, प्रवर्धन र बजारीकरणका लागि भारतमा हुने गरेको ओरेन्ज फेष्टिबलमा समेत किसानहरुलाई   सहभागी गराउँदै आएको छ । स्थानीय स्तरमै कोल्डस्टोरको निर्माण गर्न सके सुन्तला किसानले सुन्तलाको उचित मूल्य पाउने किसानहरुको अपेक्षा छ ।