प्रवीणकुमार शर्मा
रौतहट, पुस १७ गते । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा १४ हजार ९१८ नयाँ मतदाता थपिएका छन् ।
गत असोज १० देखि मङ्सिर ५ गतेसम्म सङ्कलन गरिएको मतदाता नामावली सो सङ्ख्यामा नयाँ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिनुभयो ।
निर्वाचनको मिति तोकिँदा रौतहटमा चार लाख २१ हजार ६ सय ९३ मतदाता भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार २०७९ सालको निर्वाचनमा रौतहटमा पुरुष मतदाता दुर्ए लाख २७ हजार २२९, महिला मतदाता एक लाख ८८ हजार २२५ र तेस्रो लिङ्गी मतदाता एक जना गरी कुल चार लाख १५ हजार चार सय ५५ मतदाता थिए ।
२०७९ को निर्वाचनको समयभन्दा जिल्लामा २१ हजार एक सय ५६ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी दासले बताउनुभयो ।
२०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान केन्द्र रहेकोमा यसवर्ष १८ वटा थप भएर पाँच सय ४१ वटा मतदान केन्द्र कायम भएको उहाँले बताउनुभयो ।
त्यस्तै, एउटा मतदानस्थल थप भएर दुई सय ७७ मतदानस्थल कायम भएको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रौतहटले तीव्र रुपमा तयारी बढाएको बताउनुहुँदै जिल्ला निर्वाचन अधिकारी दासले आगामी माघ २ गते ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताउनुभयो ।