• १७ पुस २०८२, बिहिबार

तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प

blog

सानिमा मिडल तमोर हाइड्रोपावरको ड्यामसाइड । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, पुस १७ गते ।
७३ मेगावट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको उत्पादन करिब तीन साता अघिदेखि ठप्प भएको छ । ताप्लेजुङमा उत्पादन सुरु गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको हो ।

पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत उत्पादन अवरुद्ध भएको जलविद्युत कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष मर्मतको कार्यतालिका समेत छुट्याइएको हुन्छ । मर्मतको कार्यतालिका नजिएकै समयमा प्राविधिक समस्या उत्पन्न भएकाले अहिले दुवै कार्य एकै पटक भइरहेको छ ।

केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा नियमित मर्मत तालिकाको कार्यलाई समेत सुरु गरिएकाले तत्कालै उत्पादनमा ढिलाइ भएको अधिकृत गौतमको भनाइ छ । हाल सम्पूर्ण सामग्री आइपुगिसकेको र  मर्मतको कार्य जारी रहेको बताइएको छ । अबको केही दिनभित्र नै उत्पादन सुरु गर्ने गरि मर्मतको कार्यलाई तीव्र गतिमा जारी राखिएको गौतमले जानकारी दिनुभयो ।

जलविद्युतको उत्पादन करिब दुई वर्ष अघिदेखि सुरु भएको थियो । उत्पादित विद्युतलाई बसन्तपुर सवस्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु सबस्टेसनमा दुई सय २० केभिए क्षमताको मात्र उपकरण रहेकाले वसन्तपुर सवस्टेसन मार्फत जडान गरिएको हो ।