यदुप्रसाद भट्ट
मनाङ, पुस १७ गते । मनास्लु पदमार्गअन्तर्गत मनाङ जिल्लाको तिल्चे–सुतिखोला खण्डमा मोटरबाटो निर्माण भएपछि पर्यटकीय पदमार्ग प्रभावित बनेको विषयमा सम्बन्धित सरोकारवालाबिच छलफल गरिएको छ । वैकल्पिक पदमार्ग निर्माणका लागि स्थानीय तहको पहलमा आयोजित बैठकमा स्थानीय वडाका जनप्रतिनिधि, संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा युवा क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकमा हालको अवस्थामा मोटरबाटोका कारण पैदल यात्राका लागि सुरक्षित, शान्त र आकर्षक पदमार्गको अभाव देखिएकाले वैकल्पिक मार्ग निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो । मनास्लु क्षेत्र पैदल पर्यटनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित रहेकाले यसको मौलिकता जोगाउन दीर्घकालीन योजना आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।
छलफलका क्रममा आर्थिक वर्ष २०८२/०८३ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको आठ लाख रुपियाँको सहयोगमा वैकल्पिक पर्यटकीय पदमार्ग निर्माण गर्ने निर्णय गरिएको छ । बैठकको निर्णयअनुसार सुतिखोला टेम्रो काटी हुँदै गोवासम्म दूधखोलाको बायाँ किनाराबाट नयाँ पदमार्ग निर्माण गरिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उक्त मार्ग प्राकृतिक सौन्दर्यले भरिपूर्ण र पदयात्रीहरूका लागि सुरक्षित हुने अपेक्षा गरिएको छ ।
नयाँ पदमार्ग निर्माणपछि पैदल यात्रीहरूलाई मोटरबाटोको जोखिमबाट मुक्त गराउँदै सहज यात्रा अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । साथै यसले स्थानीय पर्यटन प्रवर्धन, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यसैैबिच, नासोँ गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने प्रसिद्ध सिरान ताल क्षेत्रमा रहेको पर्यटक पदमार्गको मर्मत कार्य सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको तीन लाख आर्थिक तथा प्राविधिक सहयोगमा उक्त पदमार्ग मर्मत कार्य गरिएको हो ।
पर्यटकहरूको आवागमनका क्रममा असुविधा र जोखिम बढ्दै गएकाले पदमार्ग मर्मतको आवश्यकता महसुस गरी ८३ मिटर लम्बाइ र १ मिटर ८० सेन्टिमिटर चौडाइमा ढुङ्गाको छपनी छाप्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ । प्राकृतिक ढुङ्गाको प्रयोगबाट निर्माण गरिएको उक्त पदमार्ग दिगो, सुरक्षित र वातावरणमैत्री हुने अपेक्षा गरिएको छ ।
बैठकमा सहभागी जनप्रतिनिधिहरूले स्थानीय समुदायको सक्रिय सहभागितामा काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समिति र युवा क्लबहरूले समेत पदमार्ग निर्माण तथा संरक्षणमा आवश्यक सहयोग गर्ने जनाएका छन् । मनास्लु पदमार्गको मौलिक पहिचान जोगाउन गरिने यो प्रयास स्थानीयस्तरमै दीर्घकालीन लाभदायी हुने विश्वास गरिएको छ ।