चौमाला समाचारदाता
चौमाला (कैलाली), पुस १७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४१ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या, पायक स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
पहिले सुदूरपश्चिममा एक हजार १३५ मतदान स्थल रहेकामा यसपालिको निर्वाचनका लागि ४१ मतदान स्थल थपिएको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । सबैभन्दा बढी २४ मतदान स्थल डडेलधुरामा थप भएका छन् । हाल १०४ मतदान स्थल कायम गरिएको छ । यस्तै ७० मतदान स्थल रहेको बाजुरामा पाँच मतदान स्थल थपिएका छन् ।
त्यस्तै डोटीमा तीन मतदान स्थल थपेर ११८ कायम गरिएको छ । कैलालीमा दुई स्थल थपेर २३७ मतदान स्थल कायम गरिएको छ भने दार्चुलामा दुई मतदान स्थल थपेर ११२ कायम गरिएको छ । बझाङ, कञ्चनपुर र अछाममा भने मतदान स्थलमा थपघट भएको छैन । बझाङ १३३, अछाममा १३०, कञ्चनपुरमा १३२ मतदान स्थल रहेका निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मतदाताको सङ्ख्या सत्र लाख
सुदूरपश्चिम कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ७६० पुगेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् । यस्तै डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ गरेर जम्मा सुदूरपश्चिममा कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ७६० पुगेको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । जसमा पुरुष आठ लाख ५१ हजार ३१९ र महिला आठ लाख ६४ हजार ४२३ रहेका छन् भने अन्य १८ जना रहेका छन् । २०७९ को निर्वाचनमा प्रदेशमा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार ४११ रहेको थियो ।
बाइस मतदान केन्द्र अति संवेदनशील
खलङ्गा समाचारदाताका अनुसार निर्वाचनलाई स्वच्छ भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले सुरक्षाको प्रबन्ध मिलाएको जिल्ला सुरक्षा समिति दार्चुलाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । उहाँले मतदान केन्द्रलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा गस्ती गराउने र सुरक्षा पेट्रोलिङ गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
सुरक्षा समितिको बैठकले जिल्लाभरिका मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर तीन वर्गमा वर्गीकरण गरेको प्रजिअ पौडेलले बताउनुभयो । जिल्लाका १४१ मतदान केन्द्रमध्ये सुरक्षाको दृष्टिकोणले २२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ भने ४१ मतदान केन्द्रलाई संवेदनशील र ७८ मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्रको वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालनको योजना बनाउँछौँ ।” दार्चुलामा १४१ मतदान केन्द्र तथा ११२ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदीपसिंह धामीले जानकारी दिनुभयो ।