• १७ पुस २०८२, बिहिबार

सुकाखोलामा बन्दै पक्की पुल

blog

दाङको घोराही–१ र बङ्गलाचुली–४ लाई जोड्ने सुकाखोलामा पुल निर्माणको काम गरिँदै ।तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही (दाङ), पुस १७ गते । दाङको घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकालाई जोड्ने गरी सुकाखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । बिपीमार्ग अन्तर्गत रामपुर–सिमलतारा–हाँसीपुर सडक अन्तर्गत घोराही उपमहानगरपालिका–१ र बङ्गलाचुली गाउँपालिका–४ लाई जोड्ने सुकाखोलामा पक्की पुल निर्माणको काम सुरु भएको हो । सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी सागर मरासिनीले करिब चार करोड पाँच लाख आठ हजार ७८२ रुपियाँको लगानीमा पुल निर्माणको काम सुरु भएको जानकारी दिनुभएको छ । मरासिनीका अनुसार २०८२ पुस मसान्तभित्र पुल निर्माणको काम सक्ने गरी २०८१ साउन १ गते सनलाइट÷जेडी÷स्मृति विशाल जेभी दाङसँग ठेक्का सम्झौता भएको थियो । पुल २० मिटर लम्बाइको बन्ने छ । 

पुल निर्माणका लागि आर्थिक वर्ष २०८१÷८२ मा ७५ लाख रुपियाँ मात्र विनियोजन भए पनि न्यून बजेटका कारण पुल निर्माणको काम सुरु हुन सकेको थिएन । चालु आव २०८२÷८३ मा दुई करोड रुपियाँ विनियोजन भएपछि पुल निर्माणको काम सुरु भएको सूचना अधिकारी मरासिनीले बताउनुभयो । सूचना अधिकारी मरासिनीले भन्नुभयो, “न्यून बजेटका कारण गत आर्थिक वर्षमा पुल निर्माणको काम सुरु हुन सकेको थिएन । गत आवमा ७५ लाख र चालु आवमा दुई करोड बजेट विनियोजन भएपछि पुल निर्माणको काम सुरु भएको छ ।” ठेक्का सम्झौता अनुसार पुल निर्माणको म्याद सकिएकाले चालु आवभित्र सडक निर्माणको काम सक्ने गरी म्याद थप गरिएको कार्यालयले जनाएको छ । 

सुकाखोलामा पुल नहुँदा बर्सातको समयमा स्थानीयलाई हिँडडुल गर्न समस्या हुने गरेको छ । पुल निर्माणपछि बङ्गलाचुली गाउँपालिका–३, ४, ७ र ८ का स्थानीयलाई घोराही आउनजान सँगै विद्यार्थीलाई पढ्न विद्यालय आउनजान सहजता हुने बङ्गलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउनुहुन्छ । खोलामा पुल नहुँदा बर्सातको समयमा बङ्गलाचुली अन्तर्गत पर्ने गहतेरा, मुलाबारी, स्वामीघाट, कात्तिके, हाँसीपुरलगायतका स्थानीयलाई पैदल हिँड्नुपर्ने बाध्यता छ । रामपुर–सिमलतारा–हांँसीपुर–देवीकोट हुँदै राप्ती गाउँपालिका जोड्ने सडकलाई घोराही र प्रदेश राजधानी जोड्ने वैकल्पिक सडकका रूपमा लिने गरिन्छ ।