सन्तोष दहित
दाङ, पुस १७ गते । दाङको राजपुर गाउँपालिका–६, गङ्गदीकी दुर्गा चौधरी जन्मँदा सामान्य हुनुहुन्थ्यो तर गरिबी उहाँका लागि जन्मसँगै आएको नियति बन्यो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ सानै उमेरदेखि मजदुरी गर्न बाध्य हुनुभयो । पढ्न, लेख्न पाउनुभएन । मजदुरीकै व्रmममा १६ वर्षको उमेरमा गाउँकै पदम चौधरीसँग भागी विवाह गर्नुभयो । पदमको परिवार पनि विपन्न नै थियो तर दुवै मिलेर दुःख साट्दै, खुसी बाँड्नुभयो । मजदुरीबाटै घरको चुलो बल्थ्यो । यही सङ्घर्षबिच दुर्गाले दुई छोरी र एक छोरालाई जन्म दिनुभयो ।
दुर्गाको जीवनले चार वर्षअघि अर्कै मोड लियो । सुरुमा शरीर कमजोर हुने, चक्कर लाग्ने समस्या देखियो । मजदुरीबाट कमाएको थोरै पैसाले उपचारका लागि अस्पताल धाउनुभयो । चिकित्सकले कमजोरीकै कारण शरीरलाई असर गरेको बताए । समय बित्दै जाँदा त्यो कमजोरीले दुर्गालाई पूर्ण अशक्त बनायो । उहाँका हातखुट्टा चल्दैनन् । अशक्ततासँगै गरिबीको भार झनै चर्कियो । दुर्गाका नाममा एक धुर जग्गा पनि थिएन । पदमका बुवा पूर्व कमैया । सरकारले पाँच कट्ठा जग्गाको निस्सा त दियो तर दाइभाइमा बाँड्दा दुर्गाको भागमा धुर मात्रै पर्ने अवस्था थियो । त्यसमाथि दुर्गासँग नागरिकतासमेत थिएन । घर नहुँदा केही वर्ष गाउँकै खानेपानी डिप बोरिङको घरमा आश्रय लिनु प¥यो । श्रीमान्ले मजदुरी गरेर ल्याएको पैसाले खान, लाउन र छोराछोरीको स्कुल खर्चमै सकिन्थ्यो । घर बनाउने सपना पूरा भएन । कहिलेकाहीँ दुर्गा भगवान्लाई पुकार्नुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, “मेरो नाम पनि दुर्गा हो, भगवान् दुर्गा छन् भन्ने सुनेकी छु, कसैले मेरा लागि घर बनाइदिए हुन्थ्यो । ढुङ्गाका भगवान् आएनन् तर एक दिन मान्छेका भगवान् आइदिए ।”
एकल महिला, अशक्त र अति विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण अभियान लिएर ग्रामीण महिला उत्थान केन्द्र राजपुर गाउँपालिका पुग्यो । जनप्रतिनिधिमार्फत केन्द्रकी अध्यक्ष आसमानी चौधरीको टोली दुर्गासम्म पुग्यो । दुर्गाको अवस्था बुझेर घर बनाउने वचन गरियो तर जग्गा र नागरिकता दुवै नहुँदा समस्या भयो । केन्द्रले गाउँपालिकासँगको समन्वयमा दुर्गाको नागरिकता बनाइदियो । त्यसपछि आवास प्रयोजनका लागि जग्गा पनि प्राप्त भयो ।
दुर्गाले भन्नुभयो, “मसँग केही थिएन, शून्य थिएँ । नागरिकता पाएँ, जमिन पाएँ, अनि घर पनि । उहाँहरू मेरा भगवान् हुनुहुन्छ ।” निवास संस्था र राजपुर गाउँपालिकाको सहकार्यमा केन्द्रले अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधात्मक दुईकोठे घर निर्माण गरिदिएको छ । खुसीका आँसु पुछ्दै दुर्गाले भन्नुभयो, “मलाई त सपना जस्तो लाग्छ, यस्तो घरमा पाउँछु भनेर कहिल्यै कल्पना गरेको थिइनँ ।” आज दुर्गा त्यही नयाँ घरमा बस्दै आउनुभएको छ । उहाँका छोराछोरी अब घरमै बसेर पढ्न पाएका छन् । नयाँ घर पाएपछि दुर्गाको जीवनमा अब घर मात्र बनेको छैन, आशाको ढोका खुलेको छ ।
उहाँले भन्नुभयो, “घर भयो, अब छोराछोरीको पढाइमा कसैले सहयोग गरिदिए हुन्थ्यो । हात निको भयो भने किराना पसल खोलेर जीविकोपार्जन गर्ने सपना छ ।” ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले घरविहीन र अति विपन्न महिला तथा बालबालिकाका लागि सुरक्षित आवास निर्माण गर्ने प्राथमिकता अनुसार गत वर्ष चार वटा र यो वर्ष तीन वटा घर निर्माण गरेको बताउनुभयो ।” उहाँका अनुसार एउटा घर निर्माणका लागि केन्द्रले चार लाख २५ हजार र पालिकाले दुई लाख रुपियाँ लगानी गरेको छ ।