• १७ पुस २०८२, बिहिबार

अलैँचीको खेती क्षेत्र बढ्यो, उत्पादन घटयो

blog

बजारमा बिक्री गर्नलाई भट्टी लगाउन (सुकाउन) अलैँची । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १७ गते ।
ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा यसवर्ष उत्पादन भने घटेको हो ।

खोल्सीको ‘कालो सुन’ को उपमासमेत पाएको अलैँचीको उत्पादन गत वर्षको तुलनामा यो वर्ष २४८ मेट्रिक टनले घटेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष दुई हजार २९१ मेट्रिकटन अलैँची उत्पादन भएको छ । गत वर्ष दुई हजार ५३९ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रकी बाली विकास अधिकृत मुना न्यौपानेका अनुसार यसवर्ष अलैँची उत्पादन घटे पनि खेतीको क्षेत्र भने बढेको छ । जिल्लामा यो वर्ष कुल चार हजार ५७८ हेक्टर क्षेत्रफल बरबारको खेतीबाट उक्त परिमाणमा अलैँची उत्पादन भएको बाली विकास अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

गतवर्ष चार हजार ३०४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट दुई हजार ५३९ मेट्रिकटन अलैँची उत्पादन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसवर्ष अलैँची खेतीका लागि मौसम प्रतिकूल भएको अर्थात लामो समयसम्म खडेरी लागेका कारण अलैँचीको बोट र फूल सुकेकाले उत्पादन घटेको हो । यता पछिल्लो समय किसानले नयाँ बिरुवा रोप्ने र बगान (बगैँचा) विस्तार गर्न थालेपछि खेती गरिएको क्षेत्रफल भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसानहरु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुने गर्दछ । यहाँका किसानले रामसाई, चिवेसाई, गोलसाई, डम्बरसाई, भर्लाङलगायत प्रजातिका अलैँची खेती गर्ने गर्दछन् ।

पछिल्लो केही वर्षयता अलैँचीको मूल्य बर्सेनि वृद्धि हुँदै आएको छ । यसवर्षमा पनि चलनचल्तीको (साधारण) अलैँची प्रतिमन (४० किलोग्राम) एक लाख दुई हजार रुपियाँसम्ममा कारोबार भएको छ । हिजोआज भने मूल्य केही घटेर प्रतिमन ९६ हजार रुपियाँमा स्थानीय बजारमा कारोबार हुँदै आएको छ । तत्काल कायम रहेको मूल्यले पनि यसवर्ष ताप्लेजुङमा पाँच अर्ब ४९ करोड ८४ लाख रुपियाँको अलैँची उत्पादन भएको छ ।