पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, पुस १७ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजनामा बुधबार भएको शिविरमा स्वास्थ्य जाँचका साथै औषधी समेत निःशुल्क पाएपछि सेवाग्राहीहरूमा उत्साह देखिएको छ ।
शारीरिक अशक्ताका कारण अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि यो शिविर लाभ भएको छ । शिविरमा सहभागीहरूलाई विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श प्रदान गरिएको थियो । जाँचपश्चात् उनीहरूलाई आवश्यक पर्ने औषधीहरू गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको छ, जसले गर्दा आर्थिक रूपमा विपन्न र शारीरिक रूपमा अशक्त परिवारलाई ठुलो राहत मिलेको छ ।
गाउँपालिकाका उपाध्यक्ष मान कुमारी चौधरीले अपाङ्गता भएका नागरिकको स्वास्थ्य अधिकारलाई गाउँपालिकाले विशेष संवेदनशीलताका साथ हेरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा ल्याउन र उनीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ ।’’
गाउँपालिकाले केवल पूर्वाधार विकासलाई मात्र नभई मानवीय विकास र स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनीता कुमारी बिक थारुले शिविरले लक्षित वर्गको वास्तविक स्वास्थ्य अवस्था बुझ्न मद्दत पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका नागरिकहरूले भोग्नुपरिरहेको स्वास्थ्य समस्यालाई पहिचान गरी उनीहरूलाई आवश्यक पर्ने सहायक सामग्री र औषधीको व्यवस्थापन गर्न यो शिविरले एउटा तथ्याङ्कीय आधार समेत प्रदान गरेको छ ।’’
शिविरमा गाउँपालिकाका विभिन्न वडाबाट उल्लेख्य सङ्ख्यामा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो । “अस्पताल जान जान नसक्ने अवस्थामा गाउँमै डाक्टर आएर जाँच गरिदिँदा र सित्तैमा औषधी पाउँदा निकै सजिलो भयो, शिविरमा आएका सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् ।