• १७ पुस २०८२, बिहिबार

तनहुँमा दुई लाख ५४ हजार मतदाता कायम

blog

जिल्ला निर्वाचन कार्यालय तनहुँको भवन । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की     
तनहुँ, पुस १७ गते ।
तनहुँमा आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार यसमा एक लाख ३० हजार ९०६ पुरुष र एक लाख २३ हजार ४९२ महिला मतदाता रहेका छन् । निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा निर्वाचनको तयारीलाई तीव्र पारिएको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, ठाउँसारी गर्ने, मृत्यु भएका तथा दोहोरो नाम भएका मतदाता हटाउने र नागरिकता त्यागेकाको नाम काट्ने जस्ता सबै प्राविधिक कार्य सम्पन्न गरी अन्तिम नामावली सार्वजनिक गरिसकिएको छ । मतदाताको सङ्ख्या बढेसँगै यस पटक मतदान केन्द्र र मतदानस्थलको सङ्ख्यामा पनि वृद्धि गरिएको छ । अघिल्लो निर्वाचनमा ३०५ मतदान केन्द्र रहेकामा यसपटक ३१० पुर्‍याइएको छ भने मतदानस्थल १४२ बाट बढाएर १४४ कायम गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार मतदाताको चापलाई मध्यनजर गर्दै ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र वडा नं. ६ स्थित धर्म आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगबाट स्वीकृति प्राप्त भइसकेको छ । निर्वाचन व्यवस्थापनका लागि आवश्यक ५२ प्रकारका सामग्रीमध्ये मतपत्रसहित १५ प्रकारका सामग्री केन्द्रबाट आउने र बाँकी ३७ प्रकारका सामग्री जिल्लाबाटै खरिद गर्ने तयारी भइरहेको छ ।

पछिल्लो मतदाता दर्ता अभियानका क्रममा तनहुँमा आठ हजार ३६६ नयाँ मतदाता थपिएका छन् । तीमध्ये तीन हजार २०० जनाले भौतिक रूपमै उपस्थित भएर र पाँच हजार १६६ जनाले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन प्रणालीबाट नाम दर्ता गराएका हुन् । राष्ट्रिय परिचयपत्रका कारण अनलाइनबाटै नाम दर्ता गर्न सहज भएपछि नयाँ मतदाताको उल्लेख्य सहभागिता देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।

समानुपातिकको बन्दसूचीमा तनहुँका पाँच जना समेटिए
यसैबिच फागुन २१ गते हुने  सङ्घीय निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा तनहुँका पाँच जना समेटिएका छन् । प्राप्त विवरणअनुसार सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तीन जना तथा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना सूचीमा परेका हुन् ।

रास्वपाले तनहुँ क्षेत्र नम्बर १ का तीन जनालाई बन्दसूचीमा समावेश गरेको छ । जसमा दलित पुरुष क्लस्टरतर्फ पहिलो नम्बरमा चिकित्सक डा. रूपक घिमिरे (विश्वकर्मा) हुनुहुन्छ । छाला रोग विशेषज्ञ डा. घिमिरे नेपाल मेडिकल काउन्सिलका पूर्व निर्वाचित सदस्य तथा २०११ का ‘मिस्टर नेपाल’ समेत हुनुहुन्छ । उहाँ हाल रास्वपाको केन्द्रीय अभियान विभाग सदस्य र तनहुँ–काठमाडौं सम्पर्क मञ्चको संयोजकका रूपमा सक्रिय हुनुहुन्छ ।

यस्तै, रास्वपाकै तर्फबाट तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् व्यवसायी मानकाजी श्रेष्ठ र हाल जर्मनीमा कार्यरत किशोर गन्धर्व सूचीमा पर्नु भएको छ । श्रेष्ठ उपनिर्वाचनका क्रममा कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गर्नु भएको भने गन्धर्व प्रवास कमिटीमा आबद्ध हुनुहुन्छ । नेपाली कांग्रेसले भिमाद निवासी इन्दिरा खनाललाई समानुपातिक सूचीमा राखेको छ । उहाँ द्वन्द्वकालमा माओवादीबाट हत्या गरिएका शहीद कल्याण खनालकी पत्नी हुनुहुन्छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यास नगरपालिका–४ निवासी केन्द्रीय सदस्य गौमाया श्रेष्ठलाई  समानुपातिक उम्मेदवार बनाएको छ ।

तनहुँमा उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने
यस्तै निर्वाचन आयोगले तनहुँ जिल्लाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूका लागि खर्चको अधिकतम सीमा तोकेको छ । आयोगले हालै प्रकाशित गरेको सूचनाअनुसार तनहुँ क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरूले चुनाव प्रचारप्रसार तथा अन्य गतिविधिमा अधिकतम ३१ लाख रुपियाँसम्म मात्र खर्च गर्न पाउनेछन् । निर्वाचनलाई थप व्यवस्थित र पारदर्शी बनाउन आयोगले खर्च गर्ने प्रक्रियामा समेत कडा नियमहरू लागू गरेको छ ।

आयोगको निर्देशनअनुसार उम्मेदवारहरूले चुनावी खर्चका लागि अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ । उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको पूर्ण विवरण निर्वाचन अधिकृतको कार्यालय वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । सम्पूर्ण खर्चहरू सोही खातामार्फत मात्र गर्नुपर्नेछ ।

यसका साथै, निर्वाचन सम्पन्न भएपछि पनि खर्चको विवरण बुझाउनु उम्मेदवारहरूको कानुनी दायित्व हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को प्रावधानअनुसार उम्मेदवार वा निजका प्रतिनिधिले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको विस्तृत विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । आयोगले तोकिएको सीमाभित्र रहेर मात्र खर्च गर्न र निर्वाचनको निष्पक्षता कायम राख्न उम्मेदवारहरूलाई सचेत गराएको छ ।