• १७ पुस २०८२, बिहिबार

वायुप्रदूषणप्रति सचेतना

blog

विश्वका कतिपय सहरमा अनेक खालका प्रदूषण बढिरहेको छ । शुद्ध पानीको अभाव छ । हावा प्रदूषित छ । फोहोरमैलाको प्रभावकारी व्यवस्थापन हुन कठिन भएको छ । जीवाश्म इन्धनको अति प्रयोगले जलवायु सङ्कट बढेर पनि प्रदूषण बढेको भनिँदै छ । खास गरी एसियाका सहरमा प्रदूषणको मात्रा बढिरहेको छ । चीन र भारतका राजधानी पनि प्रदूषणबाट उच्च प्रभावित छन् । प्रदूषणबाट हाम्रै सहर पनि प्रभावित छन् तर पुसको चिसोसँगै पूरै देशको वायुप्रदूषण हुँदै छ । तराईमा बाक्लो हुस्सु, कुहिरो र शीतलहरसँगै प्रदूषण बढिरहेको छ । हिउँदे वर्षाको ढिलाइले वायुप्रदूषण बढ्दै गएको हो । पुस आधाआधी हुँदा पनि वर्षाको छनक देखिएको छैन । कतिपय पहाडी भूभागमा छिटपुट पानी परे पनि प्रदूषण हटाउने गरी पानी पर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अनुमानमा पनि राम्ररी पानी पार्ने खालको बादल विकसित हुन सकेको छैन । एक÷दुई दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल ल्याए पनि त्यसले राम्रो पानी पार्ने छैन । यसले वायुप्रदूषणको अवस्था अझै बढ्न सक्ने छ । तराईमा शीतलहर छ । यसले पनि जनजीवन कठिन बनेको छ । धेरै दिनदेखि तराई मधेशमा घाम लाग्न सकेको छैन । शीतलहरसँगै 

वायुप्रदूषणसमेत देखिँदा मानिस अनेक रोगव्याधीबाट पीडित हुने जोखिम बढेको छ । मानिसको जनजीवनमै प्रतिकूल असर परिरहेको छ ।


हिउँदमा पानी पार्ने भनेकै पश्चिमी वायुले हो । बङ्गालको खाडीबाट आउने मनसुनी वर्षाले बर्सातमा मात्र पानी पार्छ तर हिउँदमा मनसुनी वायु चल्दैन । पानी पार्ने नै अरब सागरबाट विकसित भई आउने पश्चिमी वायुले हो । यो पटक पश्चिमी वायुसँगको बादल सुक्खा र कमजोर आयो । मौसमविद् गोविन्द झाको भनाइमा उच्च पहाडी भेगका एक÷दुई ठाउँमा फाट्टफुट्ट पानी झर्ला, अन्यत्र खासै वर्षा हुने अवस्था छैन । यस पटकको पश्चिमी वायुु सुक्खासँगै धुलोका कण पनि आएको छ । सुक्खा र धुलोको कणसँगै नेपालतर्फ आउने सुक्खा बादलले प्रदूषण थपिने सम्भावना छ । तथापि यस वायुले उच्च हिमाल छुने गण्डकी र कर्णाली भेगका हिमालमा थोरै हिमपात भने गराउन सक्ने छ । वायुप्रदूषण मापण अनुसार काठमाडौँ उपत्यका पनि उच्च प्रदूषणमा परेको छ । काठमाडौँको रत्नपार्क स्टेसनले अति खतरनाकतर्फ लक्षित रहँदै १६२ सूचकबाट माथि देखाएको छ । त्यस्तै शङ्खपार्कमा १५८, भक्तपुरमा १५६ तथा खुमलटारमा ११५ सूचकबाट प्रदूषण माथि उठ्दै छ । देशका अन्य भूभागमा पनि प्रदूषणको मात्रा सयभन्दा माथि नै छ । त्यस्तै प्रतिघण्टाको प्रदूषण दर हेर्ने हो भने मङ्गलबार साँझ ८ बजे सबैभन्दा बढी सुर्खेतमा १७० सूचकमा प्रदूषण देखिएको छ । यसले सर्वसाधारणलाई सचेत हुनु जरुरी भएको छ ।


प्रदूषणकै कारण देशभर तुँवालो लागेको छ । तराई मधेशमा त शीतलहरले झनै जटिल अवस्था निम्त्याएको छ । देशभर नै घाम राम्ररी लाग्न सकेको छैन । पानी पर्ने र हावा चल्ने अवस्थाले मात्र पहाडमा तुवाँलो हट्छ भने मधेशले पनि शीतलहरबाट मुक्ति मिल्छ भन्ने विज्ञको भनाइलाई ध्यानमा राखी सचेतता अपनाउनु आवश्यक छ । जीवाश्म इन्धनको अति प्रयोगले बर्सांैदेखि विश्व तापमान बढ्दै जलवायु सङ्कटको अवस्था निम्त्याउँदा प्रदूषण बढ्नु स्वाभाविक हो । 

वायुप्रदूषणबाट जोगिन मास्कको प्रयोग उपयोगी हुन्छ । शीतलहरका कारण कतिपय विद्यालय पनि बन्द गर्नुपर्ने हुन्छ । विद्यालयमा पठनपाठन कठिन हुन्छ । तराईमधेशका कतिपय विद्यालय बन्द पनि गरिएका छन् । हुुुुस्सु र तुवाँलोको तह नेपाल, भारत र बङ्गलादेशको आकाश ढाकिएको छ । हावा चल्नै सकेको छैन । पश्चिमी वायु पनि कमजोर छ । त्यो वायुले वाष्पयुक्त वायु पनि बोक्न सकेको छैन । हिउँदे वर्षाले वायु स्वच्छ बनाउनुका साथै खेतीपातीका निम्तिसमेत उपयोगी हुन्छ । यो वर्ष मात्र होइन, विगतदेखि नै हिउँदमा नियमित वर्षा नहुँदा प्रदूषणको चाप बढ्दो छ । प्रदूषणलाई न्यूनीकरण गर्न पृथ्वी स्वच्छ राखी भावी पुस्ताका निम्ति बचाउने तौरतरिकालाई अगाडि बढाउनु पर्छ । प्रदूषण फैलाउने जीवाश्म इन्धन होइन, प्रदूषण नगर्ने स्वच्छ हरित ऊर्जाको प्रयोग बढाउनु पर्छ । स्वच्छ ऊर्जाप्रति संसारको ध्यान प्रभावकारी रूपमा जान सकेको छैन । प्रदूषण तथा शीतलहरबाट बच्न र बचाउन तीन तहकै सरकार गम्भीर भई सचेतना जगाउनु जरुरी छ ।