• १७ पुस २०८२, बिहिबार

शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग सहकार्य

blog

गुल्मीदरबार गाउँपालिकामा भएको अन्तरक्रियामा सहभागीहरु । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस १७ गते ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रशासन कार्यालय गुल्मीले स्थानीय तहसँग सहकार्य थालेको छ । प्रशासन कार्यालयको आयोजनामा गुल्मीदरबार गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण एवम् लागुऔषध दुर्व्यसन नियन्त्रणसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय तहसँगको सहकार्यमा शान्ति सुरक्षालाई बलियो र मजबुत बनाउन सकिने बताउनुभएको हो ।

उहाँका अनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण एवम् लागुऔषध ,दुर्व्यसन नियन्त्रणका लागि यस जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गर्न थालिएको हो । दुई नगरपालिका र दस वटै गाउँपालिकामा पुगिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । जनप्रतिनिधिहरुको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा सहज हुने बताउनुभयो । सबै मिलेर काम गर्दा अपराध नियन्त्रणमा सफलता मिल्नुका साथै नागरिकले पनि शान्ति सुरक्षाको महसुस गर्ने उहाँको भनाइ छ । अपराधका घटना घट्न नदिने तर्फ सबै सचेत आवश्यक रहेको भन्दै उहाँले सबैमा सकारात्मक सोचको विकास जरुरी बताउनुभयो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि प्रतिनिधिसभा निर्वाचनलाई समेत मध्यनजर गरी यस जिल्लामा शान्ति सुरक्षामा विशेष जोड दिइएको भन्दै उहाँले निर्वाचन सुरक्षा योजना बनाएर लागु गरिएको बताउनुभयो ।

“विद्यालयमा नियमित पाठ्यक्रमका अतिरिक्त विद्यार्थीलाई नैतिक शिक्षा, नागरिक शिक्षा र व्यवहारिक शिक्षा पनि सिकाउनुपर्छ ।’’ प्रमुख जिल्ला अधिकारी गैह्रेले भन्नुभयो, “विद्यार्थी र अभिभावकलाई सँगै राखेर अन्तरक्रिया गर्न आवश्यक छ ।’’ शिक्षक समाज सुधारको रोल मोडल हुनुपर्ने कुरामा उहाँले विशेष जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवम् प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले अपराध नियन्त्रणमा प्रहरीको सक्रियतासँगै भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभयो । त्यसैगरी जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका बारेमा गरेका कार्य, सुरक्षा चुनौतीहरु, स्थानीय तहको भूमिका, विद्यालयको भूमिका, नागरिक समाजको भूमिकालगायतका बारेमा जानकारी गराइएको थियो ।

गुल्मीदरबार गाउँपालिका र नवप्रभात युवा संघको समन्वय एवम् सहकार्यमा गौंडाकोटमा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय संघसंस्था, युवा क्लव, आमा समूहका प्रतिनिधि, विद्यार्थीहरूको उपस्थितिमा छलफल भएको थियो । छलफलमा बोल्ने बक्ताहरुले शान्ति सुरक्षा कायम गर्न प्रशासन र स्थानीय तहको सहकार्य अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् । यस गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न प्रशासन र प्रहरीसँग निरन्तर सहकार्य गर्ने बताउनभयो । नागरिकको सुरक्षाका लागि सहकार्य अति नै आवश्यक रहेको उहाँको भनाइ छ ।