• १७ पुस २०८२, बिहिबार

पत्रकारितामा मानवता

blog

एउटा युग थियो, त्यसबेला साहित्यलाई समाजको ऐना भनिन्थ्यो । आजको युगमा पत्रकारिताले साहित्यभन्दा एक कदम अगाडि पुगेर पत्रकारितालाई समाजको ऐना भन्न थालिएको छ । जनतालाई पत्रकारिताले सत्य, तथ्य र सन्तुलित सूचना मात्र उपलब्ध गराउँदैन महìवपूर्ण शिक्षा प्रदान गर्छ । राम्रो काम गर्न प्रेरणा प्रदान गर्छ । अनि कतिपय अवस्थामा मानिसहरूलाई मनोरञ्जन गराएर मस्तिष्कको लागि ऊर्जा दिने गर्छ । 

मानवीय पत्रकारिताले मानिसहरूलाई सूचना, शिक्षा, प्रेरणा र मनोरञ्जनका अतिरिक्त मानवीय धर्मप्रति सचेत गराउँछ । भनिन्छ पत्रकारिताले दुई कुरा दिन्छ समाचार र विचार । समाचार दिँदा होस् अथवा विचार दिँदा, पत्रकारले सूचना सङ्कलन गर्दा आफ्ना सूचनाको सही जाँच गर्नु पर्छ । समाचारदाताले पठाएका समाचारप्रति पनि सम्पादकले त्यसै गरी दोहोरो परीक्षण गरेर मात्र त्यसलाई प्रयोगमा ल्याउनु पर्छ । आमसञ्चार माध्यमबाट आएका गलत सूचनाले समाजमा भ्रम तथा अफवाह फैलिन पुग्यो भने आमसञ्चार माध्यममाथि नै आमपाठकको जनविश्वास घट्न जान्छ । आमसञ्चार माध्यम तथा पत्रकारको अनमोल पुँजी भनेको नै जनविश्वास हो । समाचारदाताले जिम्मेवारीपूर्वक समाचार सङ्कलन गर्ने, त्यसलाई सम्पादकले भाषा मात्र मिलाउनेतिर नलागी त्यसको तथ्य परीक्षण गरेर समाचारलाई निष्पक्ष, सन्तुलित र विश्वसनीय बनाई पाठक तथा दर्शकसमक्ष प्रस्तुत गर्दा त्यस्तो समाचारले आमपाठकको मन जित्न सक्छ । 

व्यक्तिगत, सामाजिक, राजनीतिक तथा व्यावसायिक स्वार्थभन्दा माथि उठेर प्रस्तुत गरिएका समाचारमा पाठक दर्शकको मन जित्ने टुना हुन्छ । यसमा व्यक्तिका गोपनीयता, मर्यादा र मानव अधिकारको सम्मानलाई उच्च प्राथमिकता दिने गरिन्छ । समाजमा बढिरहेका विकृति, विसङ्गति, अन्याय, अत्याचारलाई उधिनेर देखाई एउटा सुन्दर समाजको स्थापना गरी लोकतन्त्रलाई दरिलो बनाउन गहन योगदान गर्छ । कुनै पनि व्यक्ति पत्रकार हुनुअघि ऊ एक मानव हो । त्यसैले कुनै पनि पत्रकारले पत्रकारका नाताले कुनै पनि सूचना उपलब्ध गराउने काम गर्नुअघि मानवीय सोचलाई शिरोपर गर्न बिर्सन हुँदैन । 

केही आमसञ्चार माध्यमले घरेलु हिंसामा परेका अथवा बलात्कारका घटनामा परेका पीडित महिलाको नाम, तस्बिरसमेत सार्वजनिक गरेर पीडितलाई थप पीडामा पार्ने काम गरेका देखिन्छन् । त्यसबाट मानव अधिकारको ठाडो उल्लङ्घन हुने गरेका उदाहरण पाइन्छन् । दक्षिणी सुडान सन् १९९३ मा भुखमरीको डरलाग्दो चपटेमा थियो । अनिकालग्रस्त क्षेत्रमा भोकले आकुल ब्याकुल भएर धेरै मरे । त्यसबेला कैयौँ समयदेखि भोकले ब्याकुल भएर कुपोषणग्रस्त एक अबोध बालिका युएन मिसनले खाद्यान्न बाँडिरहेका स्थानतिर घस्रँदै घस्रँदै जाँदै थिइन् । एउटा गिद्ध ती बालिका मर्लिन् र खाउँला भनेर त्यहीँ नजिकै पर्खिरहेको थियो । त्यस्तो अवस्थाको करुणाले ओतप्रोत तस्बिर केभिन कार्टर नामका फोटो पत्रकारले खिचेर आफ्नो पत्रिकामा छापे । त्यस करुण दृश्यले सुडानमा भुखमरीमा परेकाहरूलाई अझ राहत वितरण गर्न विश्व नै अग्रसर बन्यो । कुपोषणले ग्रस्त बालिका र उनको मृत्यु पर्खिरहेको एउटा गिद्धको तस्बिर प्रकाशित भएपछि त्यो संसारभरि नै भाइरल बन्यो । त्यही तस्बिरका कारण फोटो पत्रकार केविन कार्टरले सन् १९९४ मा पुलित्जर पुरस्कार प्राप्त गरे । 

 अत्यधिक भोकमरी, युद्ध र अभावको त्रासदीपूर्ण यथार्थले विश्वसमुदायलाई नै त्यस तस्बिरले स्तब्ध बनायो । मानिसहरूको मुटु नै चस्काउने त्यो तस्बिर हेरेपछि कैयौँ मानिसले मन थाम्न सकेनन् । ती पत्रकारलाई धेरै मानिसले टेलिफोन गरेर ती बालिकाको पछिल्लो अवस्थाका बारेमा प्रश्न सोध्न थाले । पत्रकारले जवाफ दिए आफूले त कुपोषणले ग्रस्त ती बालिका र उनलाई मरेपछि खान पर्खिरहेको गिद्धको तस्बिर खिचेर हिँडेको कुरा बताएपछि फोटो पत्रकार केविन कार्टरको चारैतिर तीव्र आलोचना हुन थाल्यो । कार्टर पहिले मानव हुन् अनि मात्र फोटो पत्रकार हुन्, उनले त्यस्ती बालिकाप्रति मानवता देखाउनु पथ्र्यो भन्ने आवाज सबैतिर गुन्जायमान हुन थाल्यो । 

एक जनाले त कार्टरलाई फोन गरेर भने, “त्यो बालिकाका छेउमा दुई वटा गिद्ध रहेछन् । एउटा गिद्ध कतिखेर बालिका मर्लिन् र खाउँला भनेर पर्खिरहेको थियो अनि अर्को गिद्धचाहिँ क्यामेरा लिएर फोटो खिच्दै रहेछ ।” पाठकबाट आएका यस्ता प्रतिविmयाले कार्टरलाई असह्य पीडा भयो । त्यही पीडा खप्न नसकी सन् १९९४ को जुलाई महिनामा कार्टरले आत्महत्या गरे । भोकमरी पीडित ती बालिकाको त्यो बहुचर्चित तस्बिर मानवताका लागि नै एउटा कठोर ऐना बन्यो । जसले मानव मात्रका प्राथमिकता, संवेदना र पत्रकारिताका नैतिकतामाथि गम्भीर प्रश्न उठायो त्यसपछि संसारमा पेसाकर्मीले पनि आफ्नो पेसाभन्दा मानवतालाई प्राथमिकता दिनु पर्छ भन्ने सोच प्रगाढ बन्दै आएको छ । विश्वभरिका विविध पेसा व्यवसायका मानिस पहिले मानिस हुन्, त्यसपछि मात्र आआफ्नो पेसा व्यवसायका अंशियार, त्यसैले मानिसले आफ्नो पेसाभन्दा ठुलो मानवतालाई राख्न सक्नु पर्छ भनेर विश्वभरि नवीन मूल्यमान्यताको स्थापना हुन गयो ।