• १७ पुस २०८२, बिहिबार

स्वास्थ्यका उपकरण मर्मत गर्ने प्राविधिकको अभाव

blog

दक्षिण बागलुङको बरेङस्थित धुल्लुबास्कोट स्वास्थ्य चौकी पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापालगायतको टोली । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस १७ गते ।
जिल्लाका कतिपय स्वास्थ्य संस्थामा शिशुको धड्कन सुन्ने आधुनिक मेसिन डप्लर बिग्रिदा पुरानो प्रविधि फिटोस्कोपको प्रयोग गर्नुपर्ने बाध्यता छ । फिटोस्कोपले गर्भ जाँच र धड्कन थाहा पाउन धेरै समय लाग्छ । दाताले दिएका मेशिन मर्मत गर्न खर्च थोरै नलागे पनि दक्ष जनशक्ति नहुँदा अलपत्र परेका छन् ।

कठिन भूगोल रहेको निसीखोला गाउँपालिका वडा नं. ५ को निसेलढोर स्वास्थ्य एकाईमा भने विद्युत र उपकरणको अभाव छ । मेसिन भए पनि नियमित विद्युत नहुँदा उपकरणहरु प्रयोगमा समस्या छ । एकाईमा विद्युत अभाव हुँदा जन्मेको शिशु तातो बनाउने मेसिन (बेबी वार्मर) पनि सञ्चालन हुन कठिनाइ भएको स्वास्थ्यकर्मी गुनासो गर्नुहुन्छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा दातृ निकायले दिने लाखौंका सामाग्रीले नागरिकको स्वास्थ्यमा सुधार आए पनि ती सामाग्री मर्मत गर्ने प्राविधिक अभावमा पाउँदै आएको सेवा बिचैमा रोकिने गरेको टिप्पणी गर्नुहुन्छ ।

दक्षिण बागलुङको बरेङ गाउँपालिका–१ को धुल्लुबास्कोट स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा थापाले भन्नुभयो, ‘‘दातृ निकायले लाखौंका सामग्री दिएका छन्, तर मर्मतको तालिम वा प्राविधिक दिइएको छैन, बिग्रेपछि अलपत्र परेको अवस्था छ । दातृ निकायले प्राविधिक खटाउने वा मर्मतका लागि स्वास्थ्य संस्थाका प्रतिनिधिलाई नै तालिम दिनुपर्छ ।’’

सुरक्षित सुत्केरीसहित स्वास्थ्य संस्थालाई बलियो बनाएर सेवा प्रवाहमा गुणस्तरीयता दिन दशवटै स्थानीय तहमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र फेयरमेड फाउण्डेसनको साझेदारीमा संचालित सम्बोधनपरियोजनालाई स्वास्थ्य उपकरण मर्मतका लागि प्राविधिक खटाउने वा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई तालिम दिन थापाको सुझाव छ । थोरै मूल्यमा पाईने बेबी वार्मर मेसिन बिग्रेपछि बनाउने प्राविधिक अभावमा नचलेको गुनासो बढेकाले मर्मतका लागि दक्ष प्राविधिक पनि उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ ।

बरेङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख पदम पुनले स्वास्थ्य क्षेत्रको सुधारमा परियोजनाले उपकरण मात्र नभइ तालिम महत्त्वपूर्ण भएको बताउनुहुन्छ । ‘‘तीन वर्षसम्म एक/दुई जना पनि सुत्केरी नहुने स्वास्थ्यचौकी अहिले उत्कृष्ट भएका छन्, वडाहरु नो होम डेलीभरी गर्ने भएका छन्’’ पुनले भन्नुभयो, ‘‘सुरक्षित सुत्केरी गराउने तालिमले यो परिणाम आएको हो ।’’

जैमिनी नगरपालिका वडा नं. १ स्थित कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण र सामाग्री पर्याप्त आएपनि बिग्रेका स–साना काम नभएर अप्ठ्यारो भएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । सेवा प्रवाह प्रभावकारी बन्दै गएपनि स–साना उपकरण बिग्रेर समस्या आउँदा नागरिकले सहज सेवा पाउन नसकेको शर्माको भनाइ छ ।

केन्द्रमा प्रसूती पुर्व र प्रसूतीपछि बस्नका लागि ‘प्रसूती प्रतिक्षा घर’ बनाउन फेयरमेड फाउण्डेसनले ४ लाख रुपियाँ र नगरपालिकाले ६ लाख थपेर ‘प्रसूती प्रतिक्षा घर’ बनाउन लागिएको हो । दुर्घटनाका बिरामी उद्धार गर्न मिल्ने आधुनिक बेड पनि परियोजनामार्फत केन्द्रमा प्रदान गरिएको छ । परियोजनाले बागलुङ नगरपालिका वडा नं. १४ को कैयामा स्थापना गरिएको हाम्रो गाउँघर क्लिनिकमा पनि सहयोग गरेको छ ।

कैयाको शिव प्राविको एक कोठामा स्थापित क्लिनिकमा महिलाको पाठेघर सम्बन्धी शिविर पनि सञ्चालन हुँदै आएको छ । गाउँघर क्लिनिकलाई व्यवस्थित बनाउन फेयरमेडले परियोजनामार्फत अत्यावश्यक उपकरण र सामग्री सहयोग गरेको छ । दक्ष प्राविधिक खोज्ने वा स्थानीयलाई नै उपकरण र सामग्री मर्मतको तालिम दिने विषयमा ध्यानाकर्षण भएको परियोजना व्यवस्थापक ममिता पुनले बताउनुभयो ।