विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १७ गते । कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादी ओम प्रकाश मण्डल जिल्ला अदालत सप्तरीमा हाजिर हुनुभएको छ ।
राजगढ गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका ५१ वर्षीय उहाँ निवेदनसहित बुधबार अदालतमा स्वेच्छिक रुपमा हाजिर हुनु भएको हो ।
सप्तरीको साविक बेल्हीचपेना गाविस वडा नम्बर ३ स्थित रामजानकी मन्दिरका महन्थ जन्त्री दास बैरागीको हत्या घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा उहाँ फरार प्रतिवादी हुनुहुथ्यो ।
उहाँ माथि बैरागीलाई सप्तरीको साविक नर्घो गाविस वडा नम्बर ९ स्थित कोशी पश्चिम नहरको उत्तर–दक्षिण पुल नजिक नहरमा कर्तव्य गरी हत्या गरेर फालिएको अभियोग छ ।
सोही मन्दिरका पूजारी लक्ष्मी दास बैरागीको जाहेरीका आधारमा नेपाल सरकार वादी र ओम प्रकाश मण्डल सहितका प्रतिवादीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फरार रहेका प्रतिवादी ओम प्रकाश मण्डलले निवेदनसहित जिल्ला अदालत सप्तरीमा स्वेच्छिक रुपमा हाजिर हुनु भएको हो । तर थुनछेक कार्य समय अभावका कारण सम्पन्न हुन नसकेकाले उहाँलाई बिहीबार अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा फिर्ता पठाइएको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
घटनासँग जोडिएका व्यक्ति हाल जनप्रतिनिधि पदमा रहेकाले यस विषयले जिल्लामा राजनीतिक रुपमा चासो बढाएको छ ।