• १७ पुस २०८२, बिहिबार

अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु

blog

जयकृष्ण यादव 
इनरुवा, पुस १७ गते ।
जिल्लामा अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डिएसपी चन्द्र बहादुर खड्काले अपरिचित समूहले राति १ बजे तिर चलाएको गोली लागेर साहको मृत्यु भएको जानकारी दिनुभयो । घटनास्थलमा गोलीको खोका फेला परेको र गोली कसले चलाएको बारेमा अनुसन्धान भइरहेको खड्काले बताउनुभयो ।

यता स्थानीयले सशस्त्र प्रहरीले मागेको नजरना वापतको पाँच सय रुपियाँ नदिएको भन्दै किन तस्करी गर्ने, भन्सार छलेर चिनि ओसार्ने भनी भनाभन भएको र त्यसपछि गोली चलाउदा साहको घाटीमा लागेर घटनास्थलमा मृत्यु भएको दाबी गरेका छन् । यता, पीडित परिवारको भनाइ उद्धृत गर्दै कोसी १ का वडा अध्यक्ष सोभितनारायण यादवले सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएको बताउनुभएको छ ।