नवराज कट्टेल
विराटनगर, पुस १७ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित नुडल्स उद्योग एसियन थाई फुड्सको छाना अहिले सोलारका प्यानलले छोपिएको छ । उद्योगको ‘रुफ टप’ सोलार प्लानल जडान गरेर हेर्दै आकर्षक देखिन्छ ।
सञ्चालक उद्योगी महेश जाजुका अनुसार अहिले दुई मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सोलार प्लान्टको काम धमाधम छ । एक महिनाभित्र उद्योगले दिनभरका लागि आफ्नै उत्पादनको ऊर्जा खपत गर्ने छ । उद्योगी जाजुले सुक्खायाममा विद्युत् न्यून भोल्टेज, घटबढ अनि गार्हस्थ फिडरको जरुरी पूर्ति गर्न औद्योगिक फिडरको लाइन काट्ने समस्या टार्न विकल्पमा सौर्य ऊर्जा अपनाएको बताउनुभयो ।
नेपालका उद्योगले सौर्य ऊर्जा जडान गर्दा नेपालको विद्युत् निर्यातमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । यहाँ सौर्य ऊर्जा जडान गरिरहेको प्राइम रिन्युएबल कम्पनीका बजार प्रवर्धक अमितकुमार दाहालका अनुसार एसियनसँगै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका चार वटा उद्योगमा सौर्य ऊर्जा जडान गर्ने काम भइरहेको छ । जसमा अरिहन्त मल्टिफाइबर, अरिहन्त पोलिप्याक, प्रिमियर वायर छन् । एसियन थाई फुड्समा अबका १५ दिनमा सौर्य ऊर्जा प्लान्ट स्थापना भइसक्छ । काम जारी रहेका बाँकी उद्योगमा ढेड महिना लाग्ने दाहालले
जानकारी दिनुभयो । त्यसपछि कोरिडोरका स्वस्तिक रोलिङ, स्वस्तिक पोलिमर, स्वस्तिक राइस एन्ड दाल, लेमिनार इन्डस्ट्रिज, पशुपति आइरन एन्ड स्टिललगायतका उद्योगमा काम बुकिङ भइसकेको छ । कम्पनीका व्यवस्थापक सञ्जयकुमार साहका अनुसार एक मेगावाट क्षमताको सौर्य ऊर्जा जडान गर्दा मूल्य अभिवृद्धि करबाहेक तीन करोड ८० लाखदेखि चार करोड रुपियाँसम्म पर्छ ।
उद्योग व्यापार सङ्घका सचिव एवं विराटनगरमा जारी विराट ट्रेड एक्स्पोका संयोजकका अमित शारडाका अनुसार अहिले व्यापार मेलामा आकर्षक भनेको सौर्य ऊर्जा नै रहेको छ । सौर्य ऊर्जामा ‘ब्लक बुकिङ’ को कुरा भइरहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म उद्योगीहरूले छ मेगावाटको प्लान्ट लगाउने कुरा भइरहेको छ । हालसम्म १२ वटा उद्योगले रुफ टप सोलार लगाउने भएको हो । उहाँले आफ्ना चार उद्योगमध्ये दुई वटामा सौर्य ऊर्जा जडान गरिएको जानकारी दिनुभयो । बाँकी दुई उद्योगमा अब जडान गर्ने तयारी भइरहेको शारडाले जानकारी दिनुभयो । उद्योगी शारडाले प्रिमियर अर्गानिक्स र न्युट्री फुड्समा रहेको जानकारी दिनुभयो । माग बढी भएका कारण एक्स्पोमा अहिले उद्योगीका लागि सौर्य ऊर्जा नै प्राथमिकतामा रहेको उहाँको दाबी छ ।
विराटनगरमा चार वर्षअघि नै उद्योगी सुयस प्याकुरेल सञ्चालक रहेको एमएम प्लास्टिक उद्योगले सौर्य ऊर्जा खपत गरिरहेको छ । उद्योगका सञ्चालक प्याकुरेलले सौर्य ऊर्जा प्लान्ट स्थापना गरेपछि विद्युत् हुँदासमेत पहिले आफ्नै उत्पादन खपत हुने बताउनुभयो । यसो गर्दा उद्योगको लागत कम पर्छ । सुक्खा मौसममा जलस्रोत घट्दा सौर्य ऊर्जा उपयोगी वैकल्पिक स्रोत बनेको छ ।
अर्को चाँहि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक रुफ टप परियोजनालाई नेट मिटरिङ सुविधा उपलब्ध गराएको छ । उद्योगी प्याकुरेलका अनुसार उद्योगलाई चाहिनेभन्दा बढी विद्युत् राष्ट्रिय ग्रिडमा पठाउन सक्ने व्यवस्थासमेत छ । उद्योगमा अहिलेसम्म सौर्य प्यानलबाट उत्पादन भएको विद्युत् भण्डारण नगरी ग्रिडमा लाने प्रणाली छ । यो ग्रिड कनेक्टेड प्रविधि मात्रै रहेको छ । सौर्य प्यानलबाट उत्पादन भएको विद्युत् ब्याट्रीमा भण्डारण गर्ने प्रविधिलाई आइसोलेटेड प्रणाली भनिन्छ ।
उद्योग सङ्गठन मोरङका महाप्रबन्धक चूडामणि भट्टराईले पछिल्लो समय सुक्खायामको विकल्प मात्रै नभई ग्रिड कनेक्टेड प्रणालीमा जाने मनस्थितिसमेत विकास भएको जानकारी दिनुभयो । उहाँले आवश्यक पर्ने आफैँलाई खपत गर्ने बढी भएमा ग्रिडमा पठाएर पैसा लिन सक्ने सुविधाले दोहोरो फाइदा लिन सकिन्छ ।