चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १६ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियोगितामा कुल ५७ पदक प्राप्त गरी नारायणी मावि प्रथम बन्न सफल भएको हो।
प्रतियोगितामा नारायणी माविले २१ स्वर्ण, २६ रजत र १० कास्य पदक जितेको छ। दोस्रो बनेको मैवाखोला माध्यमिक विद्यालयले ५६ पदक जितेको छ। मैवाखोला माविले प्रथम बनेको नारायणी माविले भन्दा स्वर्णपदकको सङ्ख्या बढी जितेको छ। मैवाखोलाले स्वर्णपदक २८, रजत २३ र काँस्य पदक पाँच जितेको छ।
यस्तै तेस्रो बनेको महेन्द्र माध्यमिक विद्यालयले स्वर्ण पदक १५, रजत एक र कास्य १० गरी कुल २६ पदक जितेको छ। जनकल्याण माध्यमिक विद्यालयले दुई स्वर्ण, चार रजत र पाँच काँस्य गरी ११ पदक र नतिजामा अन्तिम बनेको पाटीडाँडा माध्यमिक विद्यालय भने स्वर्ण पदकविहीन बनेको छ।
पाटीडाँडा माविले जितेको कुल चार पदकमध्ये रजत एक र काँस्य तीन रहेको छ। प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्ययक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन लगायतले शिल्ड, कप, पदक र प्रमाणपत्रहरु वितरण गर्नुभएको थियो।
गाउँपालिकाको प्रशासकीय केन्द्र वडा ३ साँघुस्थित नारायणी माविको संयोजन तथा व्यवस्थापनमा अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा पालिकाभित्रका पाँच वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए।