काठमाडौँ, पुस १६ गते । बेलायतमा नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउने उद्देश्यसहित एक महत्त्वपूर्ण र सकारात्मक छलफल सम्पन्न भएको छ।
उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बिजिसिएल) र किडाशाबिच नेपाली क्रिकेटको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर छलफल गरिएको हो ।
छलफलमा ब्रिटिश गोर्खाली क्रिकेट लिग (बिजिसिएल) का प्रबन्ध निर्देशक ग्याम गुरुङले नेपाली क्रिकेटप्रति बेलायतबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गुरुङले भन्नुभयो,“नेपाली क्रिकेट हाम्रो पहिचान र गर्व हो । बेलायतमा रहेर पनि हामी नेपाली क्रिकेटको उन्नतिका लागि निरन्तर हातेमालो गर्दै जाने छौँ। खेलाडी विकास, अवसर सिर्जना र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि बिजिसिएल सधैं नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्ने छ।”
ग्याम गुरुङले बेलायतमा नेपाली क्रिकेटको संरचना क्रमश: बलियो बन्दै गएको उल्लेख गर्दै, यही अनुभव र स्रोत नेपालसँग साझा गर्न सकिए नेपाली क्रिकेटले अझ ठुलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार बेलायतबाट प्राप्त हुने निरन्तर सहयोगले नेपाली युवा खेलाडीलाई थप प्रेरणा र नयाँ सम्भावना प्रदान गर्ने छ।
यसैगरी किडाशाका कार्यक्रम संयोजक जेरेमी साउथहनले क्रिकेट खेललाई बालबालिका र युवाहरुको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्नुभयो ।
उहाँले नेपालका विशेषगरी सहरी क्षेत्रमा रहेका प्रतिभावान बालबालिकालाई क्रिकेटमार्फत अवसर प्रदान गर्न किडाशा सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी युवा क्रिकेट प्रवर्धक विज्ञान कार्कीले नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि जरा तहबाटै (ग्रासरुट लेभल) योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले नेपाल र बेलायतबिच क्रिकेट सहकार्य विस्तार भएमा नेपाली युवा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने ठुलो अवसर पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
छलफलमा विद्यालय नेपाली क्रिकेट प्रशिक्षण कार्यक्रम, युवा क्रिकेट विकास परियोजना, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरू तथा दीर्घकालीन क्रिकेट संरचना निर्माणका विषयमा समेत सकारात्मक विचारविमर्श गरिएको थियो ।
किडाशा विगत लामो समयदेखि नेपालमा बालबालिका र युवामाझ खेलकुद, विशेषगरी क्रिकेट विकासमा सक्रिय रूपमा काम गर्दै आएको संस्था हो । किडाशाले बुटवल र पोखरा जस्ता सहरमा लामो समयदेखि क्रिकेट प्रशिक्षण, प्रतिभा पहिचान र युवा विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसैगरी ब्रिटिश गोर्खाली क्रिकेट लिग (बिजिसिएल) बेलायतमा स्थापित एक व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रतिष्ठित क्रिकेट लिगको रूपमा परिचित छ । बिजिसिएलले बेलायतमा रहेका नेपाली खेलाडीहरूलाई गुणस्तरीय प्रतियोगिता, व्यावसायिक वातावरण र अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्दै आएको छ ।
लिगले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र खेलाडीहरूलाई नयाँ अवसरतर्फ डोर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । किडाशा र बिजिसिएल दुवै संस्थाको साझा उद्देश्य नेपाली क्रिकेटको दिगो विकास र युवा खेलाडीको भविष्य उज्यालो बनाउनु रहेको देखिन्छ ।