• १६ पुस २०८२, बुधबार

पासाङ दोर्जे मोक्तानको ‘ताम्बा ह्रिमठिम’ सार्वजनिक

blog

काठमाडौँ, पुस १६ गते । ताम्बा बिना तामाङ समुदायको इतिहास अधूरो रहने र सांस्कृतिक कार्यले पूर्णता नपाउने मान्यतालाई लिपिबद्ध गर्ने उद्देश्यसहित ताम्बा अध्येता पासाङदोर्जे लामा मोक्तानद्वारा लिखित ‘ताम्बा ह्रिमठिम’पुस्तक सार्वजनिक भएको छ । मंगलबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक विमोचन गरिएको हो । 

पेङदोर्जे, डम्फु र ताम्बा तहसम्बन्धी विविध विषयको चर्चा गरिएको कार्यक्रमका प्रमुख अतिथि मानवशास्त्री डा.मुक्तसिंह थोकरले तामाङको शास्त्रीय भाषा, पुर्खाले रचना गरेका दर्शन र विचार पुस्तकमा समेटिएको उल्लेख गर्दै भविष्यमा बोन्बो र लामासम्बन्धी विषय पनि जोडिनुपर्ने सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो,‘तामाङ समुदायको विवाह संस्कारका महत्वपूर्ण अध्यायमध्ये ‘चारतम’ संस्कार र विभिन्न संस्कारमा गाइने गीतबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।’ पुस्तक समीक्षक नवीन मोक्तानका अनुसार पुस्तकले मुख्य गरी तीन विषयमा जोड दिएको छ-विवाहमा गरिने चारतम, साङसेरगेम नगरी कुनै कर्मकाण्ड नगर्नु, तथा ह्रुइका विषयलाई लिपिबद्धरूपमा प्रस्तुत गर्नु रहेको छ । ह्रुइमा गरिने विवाह संस्कार पुस्तकमा प्रस्तुत गरिएको भए पनि ताम्बाका गीत धेरैका लागि बुझ्न गाह्रो हुन सक्ने उहाँको टिप्पणी छ । 

भाषाविद अमृत योञ्जनले १६ लाखभन्दा बढी तामाङ जनसंख्या रहेको भनिए पनि वर्षमा दुई वटा पनि तामाङ भाषाका पुस्तक नआउने अवस्थाबिच यो पुस्तक प्रकाशन हुनु सुखद भएको बताउनुभयो । ‘यो पुस्तकले शून्यता चिरेको छ, तामाङ समुदायले पुस्तक किन्ने बानीको विकास गर्नुपर्छ,’उहाँको भनाइ छ । 

तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले चारतम संस्कारमा खस भाषा प्रयोग हुन थालेकाले पुर्खाले नबुझ्ने अवस्था सिर्जना भएको भन्दै ताम्बा परम्परा जोगाउन मोक्तानको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

विगत तीन दशकदेखि खोज, अध्ययन, अनुसन्धान र अभ्यासमा संलग्न मोक्तानले पुस्तान्तरण हुँदै आएको ताम्बा परम्परालाई केही बाध्यता, रहर र विवशताबिच जोगाउँदै आएको आफ्ना अनुभव पुस्तकमा समेटिएको बताउनुभयो । ‘चावाई बोन, चवाईसिङ्गे लामा र चवाईसिंह’का कारण ताम्बा परम्परा जोगिरहे पनि अझै स्पष्ट दिशामा अघि बढ्न नसकेको उहाँको भनाइ थियो ।

पुस्तक तामाङ समुदायको साझा सम्पत्ति भएकाले समीक्षकको सुझावअनुसार आगामी संस्करणमा थप परिस्कृत गरिने उहाँको भनाइ छ । लेखक खोजराज गोलेद्वारा सम्पादित पुस्तक ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो ।