बाबुराम देवकोटा
सिन्धुलीमाढी, पुस १६ गते । सिन्धुलीमा पछिल्लो केही दिनदेखि अत्यधिक बढेको जाडोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएको स्थानीयले बताएका छन् ।
जाडो बढेसँगै कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका छन् । कमलामाई नगरपालिकाले बुधबार एक सूचना जारीगरी नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन पुस १७ र १८ गते बन्द गरेको जनाएको छ ।
कमलामाई नगरपालिकाले २०८२ सालको वार्षिक विदाबाट मिलान हुनेगरी दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । मौसम अनुकूल भएसँगै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन पुनः सुचारु हुने उहाँको भनाइ छ ।
कमलामाई नगरपालिकामा प्रावि, आधारभूत र माध्यमिक तहका गरी ८४ वटा सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालय रहेको उक्त नगरपालिकाले जनाएको छ । त्यस्तै, दुधौली नगरपालिकाले जाडो बढेका कारण बुधवारदेखि अर्को सूचना जारी नभएसम्म नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।
दुधौली नगरपालिकामा उक्त विदा २०८२ सालको वार्षिक विदाबाट मिलान हुनेगरी दिएको नगरपालिकाका कार्यबाहक प्रमुख चन्द्रकिसोर थारुले जानकारी दिनुभयो । दुधौली नगरपालिकामा प्रावि, आधारभूत र माध्यमिक तहका गरी ६७ वटा सामुदायिक विद्यालय र १६ वटा संस्थागत विद्यालय रहेको नगरपालिकाले जनाएको छ ।
जाडोका कारण सदरमुकाम सिन्धुलीमाढीलगायत सडक तथा चोक–चोकमा मानिसको चहल–पहल घटेको छ । सिन्धुलीमाढी निवासी जीवन पाल्पालीका अनुसार दुई दिनदेखि घाम नलाग्दा चिसो झनै बढेको छ । ‘मङ्गलबार दिनभर घाम देख्न पाइएन, चिसो मात्र थियो । बुधबार पनि त्यस्तै अवस्था छ । यतिखेर जाडो ह्वात्तै बढेको छ । यो वर्षकै सबैभन्दा बढी जाडो बल्ल सुरु भएको महसुस भएको छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार अत्यावश्यक काम हुने मानिस मात्र सडकमा निस्किएका छन् । चोक–चोकमा आगो बालेर धुनी ताप्नेहरूको सङ्ख्या बढेको छ । लगातार दुई दिनदेखि घाम नलाग्दा सिन्धुलीमा यो वर्ष अहिलेसम्मकै चिसो बढेको स्थानीयको अनुभव छ ।