अविनाश चौधरी
धनगढी, पुस १६ गते। सुदूरपश्चिम प्रदेशको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गरिएको छ।
चार महिनापछि आज बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला ततथा कानुनमन्त्री हीरासिंह सार्कीले महालेखा परीक्षकको पहिलो वार्षिक प्रतिवेदन २०७५, छैटौं वार्षिक प्रतिवेदन २०८१ र सातौं वार्षिक प्रतिवेदन २०८२ सभामा पेस गर्नुभयो।
यसैगरी, उहाँले प्रदेश लोक सेवा आयोगको चौथो वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि सभामा पेस गर्नुभयो। महालेखा परीक्षकको प्रतिवेदन छलफलका लागि सार्वजनिक लेखा समिति र प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ।
बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष टेबुल गर्नुभयो। यसैगरी, सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नु भएको थियो।
यसैबिच, बैठकमा शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यले पुँजीगत खर्च बढाउन प्रदेश सरकारलाई आग्रह गरेका छन्। प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शिवसिंह ओलीले पुँजीगत खर्च किन बढिररहेको छैन भन्दै प्रदेश सरकारको जवाफ माग गर्नुभयो। भदौ २४ गते जेनजीको नाममा ठुलो विध्वंस मच्चाइएको उल्लेख गर्दै उहाँले त्यसको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्नुभयो।
त्यस्तै, नेकपाकै लक्ष्मी विकले बजेट कार्यान्वयनको अवस्था दयनीय रहेको उल्लेख गर्नुभयो। भ्रष्टाचारले सीमा नाँघेको जिकिर गर्दै उहाँले सरकारकै व्यवहार र कार्यशैलीका कारण जेनजी विद्रोह भएको बताउनु भयो।
अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीले जेनजी आन्दोलनको सबै प्रक्रियाको जिम्मेवार तत्कालीन सरकार र केही विदेशी तत्व रहेको बताउनु भयो। आन्दोलनपछि पनि सरकारको चेत नखुलेको भन्दै उहाँले प्रदेश सरकार पनि नीतिगत रूपमा अगाडि बढ्न नसकेको उल्लेख गर्नुभयो।
त्यस्तै, रामेश्वर चौधरीले नेपाल सरकारले दिएको एक लाख रुपियाँ बराबरको उपचार कोष सकिएपछि सिकलसेलका बिरामीहरूका उपचारमा समस्या भइरहेको बताउनु भयो। उहाँले सिकलसेलका बिरामीको उपचारमा सहयोग गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डम्मरी महराले जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथि भएको आक्रमणको भर्सना गर्नुभयो। उहाँले देशको धरोहर जलाउनेहरू देशको सन्तति हुन नसक्ने जिकिर गर्दै दोषीमाथि कारबाही र महिलालाई सम्मान गर्न आग्रह गर्नु भएको छ।
त्यस्तै, नेकपाका गीतादेवी मालले जेनजी आन्दोलनको बहाना बनाएर प्रदेश सरकार कानमा तेल हालेर सुतेको आरोप लगाउनु भयो। जेनजी उत्पादनको कारकतत्व सरकार नै रहेको जिकिर गर्दै उहाँले प्रदेश सरकार असफल भएको टिप्पणी गर्नुभयो।