• १६ पुस २०८२, बुधबार

केएमसि २९ वडा अध्यक्ष कप चेस हुने

blog

काठमाडौँ, पुस १६ गते । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजनामा ‘प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ ।

माघ ९ र १० गते सञ्चालन हुने चेस प्रतिस्पर्धामा ३३ जना खेलाडीको सहभागिता रहने वडा अध्यक्ष कुश ढकालले जानकारी दिनुभयो । कुल  ३ लाख २८ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेताले ३० हजा, तेस्रोले २५ र चौथोले २० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

यस्तै पाँचौँ देखि सातौँ स्थानसम्म रहने खेलाडीलाई १७ हजार तथा आठौँ देखि १०औँ सम्मलाई १५ हजार र ११औँ देखि १५औँ सम्म अटाउने खेलाडीलाई सात हजार रुपियाँ प्रदान गरिनेछ । 

यसैगरी महिलातर्फ विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: सात, ६ र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै बेस्ट अनरेटेड र भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमश: पाँच, चार र तीन हजार तथा उत्कृष्ट युवा १४ वर्ष, युवा १२ वर्ष, युवा १० वर्षका खेलाडी, रेटिङ १८०० मुनि, रेटिङ १६०० मुनि शीर्ष तीनमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताका खेलहरु स्विस लिग प्रणालीका आधारमा नवौँ चरणसम्म चल्नेछ । अनामनगरस्थित वडाको आफ्नै भवनमा सञ्चालन हुने प्रतियोगिताको निर्देशक इन्द्रकुमार बस्नेत र प्रमुख निर्णायक फिडे निर्णायक एफए सोराज ताम्राकार रहनुभएको छ ।