• १६ पुस २०८२, बुधबार

लमजुङमा गोरु जुधाई प्रतियोगिता

blog

सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइँदै । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस १६ गते । लमजुङको सुन्दरबजार नगरपालिका–२, आहाले चौरमा तेस्रो खुला गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय सुन्दरबजार देवभूमि युवा क्लबले आयोजना गरेको प्रतियोगितामा २१ जना कृषकको गोरु जुधाइएको थियो । 

अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक प्रतियोगितामा सुन्दरबजार नगरपालिका–११ का राजु दुराको गोरुले पहिलो स्थान हासिल गरेको छ । सुन्दरबजार नगरपालिका–२ का प्रकाश पन्तको गोरुले दोस्रो स्थान तथा मध्यनेपाल नगरपालिका–१ को जिताका श्याम केसीको गोरुले तेस्रो स्थान हासिल गरेको निर्णायक समितिका संयोजक रमेशराज भण्डारीले जानकारी दिनु भयो । 

प्रतियोगितामा लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाबाट ४–४ वटा गोरु आएका थिए । मध्यनेपाल नगरपालिका र बेँसीसहर नगरपालिकाबाट १–१ वटा गोरु प्रतियोगितामा ल्याइएका थिए । बाँकी ११ वटा गोरु सुन्दरबजार नगरपालिकाकै विभिन्न वडाका रहेका थिए । 

सुन्दरबजार नगरपालिका–२ वडाध्यक्ष नवीनकुमार श्रेष्ठले गोरु जुधाई प्रतियोगिता परेवाडाँडाको संस्कृति भएकोले हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । गोरु जुधाउने विषयमा व्यक्तिहरूका फरक मत भए पनि यसलाई एउटा चाडमा रूपमा यो कार्यक्रमलाई लिन उहाँको आग्रह थियो ।

आयोजक क्लबले सोही वडाको आहाले चौरमा दुई वर्ष अघिदेखि गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्दै आएको छ । हरेक वर्ष यो प्रतियोगितामा दर्शक बढ्ने गरेका छन् । यस वर्ष पनि सो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ । 

सो प्रतियोगिताले यस वर्ष परेवाडाँडाको संस्कृति र गोरुपालक कृषकको उत्साहलाई जीवन्त बनाउन सफल भएको रूपमा लिएको गोरु जुधाउन आएका गोरुधनी किसानले बताएका थिए । गोरु जुधाई हेर्न सुन्दरबजारसहित आसपासका पालिका र जिल्लाबाट आएका दर्शकको उल्लेख्य भिड थियो । 

विजेता गोरुधनीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष महेश परियारले जानकारी दिनु भयो ।