प्रवीणकुमार शर्मा
रौतहट, पुस १६ गते । रौतहटमा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले नेपाली सेनाले दाउरा वितरण गरेको छ ।
श्री नारायण दल गणबाट लेफ्टिनेन्ट आशिष् पौडेलको कमान्डमा खटिएको टोलीले बुधबार गौर घन्टाघर, सिर्सिया, राजदेवीको हजमिनिया, दुर्गा भगवती गाउँपालिकाको गङापिपरामा दाउरा वितरण गरेको हो ।
रौतहटको प्रत्येक पालिकाका मुख्य चोक लगायत बजार क्षेत्रमा आगो बाल्न दाउरा वितरण गरिने श्री नारायण दल गणका प्रमुख सेनानी विश्वास बिष्टले बताउनुभयो । बढ्दो चिसो तथा शीतलहरका कारण नागरिकको जीवन कष्टकर हुँदै गएकोले राहत स्वरूप आगो बाल्न दाउरा वितरण गरिएको उहाँले बताउनु भयो । चिसोका कारण वृद्ध, अशक्त, बिरामी तथा विपन्न वर्ग बढी प्रभावित रहेको र स्थानीय सरकार जवाफदेही नरहेको अवस्थामा नेपाली सेनाको श्री नारायण दल गणले आगो बाल्न दाउरा वितरण गरेकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन् ।
शान्ति सुरक्षासँगै विपद्जन्य परिस्थितिमा जनताको जीवन रक्षा र सेवामा सदैव अग्रसर रहँदै आएको नेपाली सेनाको मानवीय कार्यले सेनाप्रति जनविश्वास अझ सुदृढ बनाउने प्रमुख सेनानी विष्टले बताउनु भयो ।