• १६ पुस २०८२, बुधबार

नौबस्ता कारागारबाट भागेका ९५ जना अझै सम्पर्कविहीन

blog

सिराज खान

नेपालगन्ज, पुस १६ गते । जेनजी आन्दोलनको बेला गत भदौ २४ गते बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ जना कैदीमध्ये अझै ९५ जना सम्पर्कविहीन रहेको र उनीहरुको खोजी कार्य भने भइरहेको कारागारले जनाएको छ । 

नौबस्ता कारागारका प्रमुख जालन्धर भुषालका अनुसार भदौ २४ गते राती प्रहरीसंग भिडन्त गरेर भागेका १४७ जना कैदी मध्ये ५२ जनालाई मात्र पक्राउ गर्न सकिएको र ९५ जना अझैपनि फरार रहेका छन् । 

उहाँले फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना अन्यत्र कारागारमा हाजिर भएकोले उनिहरुलाई पनि यहाँ ल्याईएको जानकारी दिनुभयो । फरार रहेका कैदीहरुको खोजी कार्य भने निरन्तर चलिरहेको जानकारी प्रहरीले गराएको कारगार प्रमुख भुषालको भनाइ छ ।  

तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कारगार वा प्रहरी कार्यालयमा हाजिर हुन समयसीमा दिइएको थियो । तर नौबस्ता कारागारबाट भागेकाहरु मध्ये ९५ जना अझैसम्म सम्पर्कमा आएका छैनन् । 

जेनजी आन्दोलनको समयमा भागेका कैदीहरुमध्ये अधिकांश खुला सिमानाको फाइदा उठाएर भारत गएको आशंका गरिएको कारागार प्रमुख भुषालले बताउनुभयो । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार कैदी बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको उल्लेख गर्दै फरार भएका अधिकांश भारतमा लुकेको हुन सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “कारागारबाट भागेकालाई पक्राउ गर्न फरार भएकाका घरघरमा पत्राचार गरिएको छ । प्रहरी परिचालन भएको छ, तर पनि अझै धेरैको बारेमा कुनै जानकारी आएको छैन ।” उता, जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फरार भएका कैदी बन्दीको खोजी भागेकै दिनबाट शुरु गरिएको जनाउँदै सबै पक्राउ नपर्दासम्म खोजी कार्य जारी रहने जनाएको छ ।